प्रधानमन्त्री कार्कीले जेन-जी युवाको अनुहारमा देखिन रामचन्द्र र शेरबहादुरको छाया
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले प्रारम्भमा भावनात्मक तर्क गर्ने जेन-जी समूह पछिल्लो समय गम्भीर राजनीतिक विषयमा छलफल गर्न थालेको बताइन्। प्रारम्भमा जेन-जीका प्रतिनिधिहरू दलका नेताहरूको नामै सुन्न नचाहने अवस्थामा रहेको र संविधान बाहिरका मागहरू राख्ने गरेको भन्दै उनीहरूले बिस्तारै राजनीतिक प्रणाली र संवैधानिक प्रावधान बुझ्दै गएको बताइन्।
शुक्रवार साँझ केही सम्पादकहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै उनले भनिन् “अहिले उनीहरूका राजनीतिक कुरा सुन्दा मलाई नै अचम्म लाग्छ। कोही त रामचन्द्र पौडेलजी युवा हुँदा जस्ता कुरा गर्छन्, कोही शेरबहादुरजीको युवा उमेरको जस्तो चिन्तन देखिन्छ।”
उनले छलफलमा जेन-जी र राजनीतिक दलबिचको संवाद सुरु गर्न ढिला भएको स्वीकार गरिन्। प्रारम्भमा जेन-जी प्रतिनिधीहरुले दलका नेताहरूसँग छलफल नगर्न दबाब दिने गरेको भन्दै प्रारम्भमा राष्ट्रपति रामचन्द्र पौडेलले संवादका लागि सहजकर्ताको भूमिका खेल्दै दल र जेन-जी समूहसँग अलग अलग संवाद गरेको र पछि आफूले दुवै पक्षलाई एउटै टेबलमा ल्याएर संवाद गराएको बताइन्।
“पहिलो दिन भेटेका जेन–जीहरू अहिले भेट्दा फरक देखिन्छन्। उनीहरूको सोच, बुझाइ र अभिव्यक्ति निकै सकारात्मक र गहिरो बनेको छ,” उनले भनिन्।
कात्तिक १४, २०८२ शुक्रबार २३:४७:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।