पछिल्ला १० दिनमा देशका विभिन्न स्थानहरूमा एनसेलका २० नयाँ टावर जडान

पछिल्ला १० दिनमा देशका विभिन्न स्थानहरूमा एनसेलका २० नयाँ टावर जडान

काठमाडौं : एनसेलले पछिल्ला १० दिनमा देशका विभिन्न स्थानहरूमा २० नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ। यससँगै ती क्षेत्रका ग्राहकहरूले अब एनसेलको फोरजी नेटवर्कमार्फत गुणस्तरीय भ्वाइस र उच्चगतिको डेटा सेवाको सुविधा लिन सक्ने भएका छन्।

कम्पनीले आफ्नो सेवाको निरन्तर विस्तार र गुणस्तर सुधार अभियानअन्तर्गत मधेस, बागमती र कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा फोरजी नेटवर्कलाई थप सुदृढ बनाएको जनाएको छ। लामो समयदेखि रोकिएको सहजीकरण नेपाल दूरसञ्चार प्राधिकरणले सहज बनाएसँगै, एनसेलले चाडपर्वको समयमा पनि टावर निर्माण कार्यलाई तीव्रता दिँदै १० दिनभित्रै २० वटा टावर सञ्चालनमा ल्याएको हो।

एनसेलका अनुसार, मधेस प्रदेशमा १३ वटा नयाँ टावर सञ्चालनमा आएका छन्। ती स्थानहरूमा बाराको परवानीपुर, पर्साको पकहाँ मैनपुर, पोखरिया र वीरगञ्ज, सप्तरीको बलानबिहुल, धनुषाको जनकपुर, कटैया, कमलार विदेह, सर्लाहीको कौडेना र मोतीपुर, र रौतहटको यमुनामाई तथा माधव नारायण सामेल छन्।

कोशी प्रदेशमा ६ टावर सञ्चालनमा आएका छन् - सुनसरीको इनरुवा, बर्जु, हरिनगर र गढीमा चार, र मोरङको ववियाविर्ता तथा मजारेमा दुई वटा। त्यस्तै, बागमती प्रदेशको मकवानपुर (हेटौडा) मा एउटा नयाँ टावर जडान गरिएको छ।

एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने, “हामी नेपालको डिजिटल कनेक्टिभिटी विस्तार गर्ने हाम्रो प्रतिबद्धताअनुसार फोरजी नेटवर्कलाई सुदृढ बनाइरहेका छौं। १० दिनमै २० नयाँ टावर सञ्चालनमा ल्याएर हामीले आधुनिक मोबाइल ब्रडब्यान्ड र गुणस्तरीय भ्वाइस सेवामा अझ व्यापक पहुँच सुनिश्चित गरेका छौं।”

उनका अनुसार, आगामी दुई दिनभित्र थप १० नयाँ टावर सञ्चालनमा ल्याउने योजना समेत छ। “यो विस्तारले देशभरका ग्राहकहरूलाई अझ भरपर्दो मोबाइल सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई स्पष्ट पारेको छ,” उनले भने।

उपकरण आयातमा बन्देजका बीच पनि एनसेलले पुराना उपकरणहरूको प्रयोग गरेर यो वर्ष मात्र ४० भन्दा बढी नयाँ टावर जडान गरी सेवा विस्तार गरेको छ।

फोरजी सेवा विस्तार योजनाअनुसार, एनसेलले आगामी दुई महिनाभित्र देशका सबै प्रदेशमा १७० भन्दा बढी नयाँ टावर जडान गर्ने तयारी गरेको छ। यसले नेटवर्क पहुँच र गुणस्तरलाई अझ मजबुत बनाउने कम्पनीले जनाएको छ।

एनसेलले जेठ २०७४ मा फोरजी सेवा सुरु गरेको हो। अहिले यो सेवा ७७ वटै जिल्लामा विस्तार भइसकेको छ र ९५ प्रतिशतभन्दा बढी जनसंख्या एनसेलको फोरजी सञ्जालमा आबद्ध भइसकेका छन्।

कात्तिक १४, २०८२ शुक्रबार २०:५९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।