उद्योगमा विद्युत् कटौती तत्काल समाधान गर्नुपर्छ : महासंघ अध्यक्ष ढकाल
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग क्षेत्रमा बढ्दो विद्युत् कटौतीको समस्या तत्काल समाधान गर्न सरकारलाई आग्रह गरेका छन्।
शुक्रबार अर्थ मन्त्रालयमा आयोजित सार्वजनिक-निजी संवाद कार्यक्रममा बोल्दै उनले विद्युत् आपूर्तिमा आएको अवरोधका कारण देशभरका धेरै उद्योग बन्द हुन पुगेका र हजारौँ कामदार रोजगारी गुमाउने जोखिममा परेका बताए।
अध्यक्ष ढकालका अनुसार लाइन काटिँदा राष्ट्रले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको छ। उनले भने, “औद्योगिक उत्पादन, निर्यात र समग्र आर्थिक क्रियाकलापमा नकारात्मक असर परेको छ। सरकार र निजी क्षेत्रबीच वार्ता र सहकार्यकै माध्यमबाट तत्काल समाधान खोज्नुपर्छ।”
उनले औद्योगिक सुरक्षा र लगानी वातावरणबारे पनि गम्भीर चिन्ता व्यक्त गरे। “जेनजी आन्दोलनका क्रममा भएको घुसपैठ र निजी उद्योगमाथिको आक्रमणले लगानीकर्ताको आत्मविश्वास घटाएको छ,” उनले भने, “यदि उद्योगी–व्यवसायीको मनोबल उच्च राख्न सकिएन भने देशमा नयाँ लगानी आउने त टाढाको कुरा, विद्यमान पूँजी पनि पलायन हुन सक्छ।”
ढकालले आन्तरिक तथा बाह्य लगानीकर्ताले सुरक्षित महसुस गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरे। उनका अनुसार, “देशमा रोजगारी सिर्जना गर्ने र कर तिर्ने निजी क्षेत्र हरेक आन्दोलनमा आक्रमणको सिकार बन्नु दुःखद् हो। निजी क्षेत्रप्रतिको दृष्टिकोण परिवर्तन गर्नुपर्छ र यसका लागि सरकारले ठोस पहल गर्नुपर्छ।”
उनले सरकारद्वारा औद्योगिक सुरक्षा, क्षतिग्रस्त उद्योगहरूको पुनर्निर्माण र लगानी प्रोत्साहनका लागि गरिएका निर्णयको प्रशंसा गर्दै नीति कार्यान्वयनमा ढिलाइ हुने प्रवृत्तिमा सुधार गर्नुपर्नेमा जोड दिएका छन्।
कात्तिक १४, २०८२ शुक्रबार २०:३८:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।