जेन-जी आन्दोलनमा प्रहरी पेस्तोल लुट्ने र किन्ने पाँच जना पक्राउ

जेन-जी आन्दोलनमा प्रहरी पेस्तोल लुट्ने र किन्ने पाँच जना पक्राउ

काठमाडौं : जेनजी आन्दोलनको क्रममा लुटेको प्रहरीको पेस्तोल बेच्ने र किन्नेसहित पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले पेस्तोल र गोली लुटेर बेचेको आरोपमा २१ वर्षीय कृष्ण गुरुङ, २५ वर्षीय राजन देउला, २४ वर्षीय अकबर खान, सुमिन शाक्य र ३८ वर्षका प्रभात मल्ल पक्राउ परेका हुन्।

प्रहरीका अनुसार कृष्ण गुरुङले भदौ २४ मा प्रहरीको पेस्तोल लुटेका थिए। उनले गोलीसहित लुटेको पेस्तोल बेच्न खोजेपछि राजन अकबर र सुमिनले हतियार किन्ने व्यक्ति खोजेका थिए। मल्ल पेस्तोल किन्न राजी भएपछि उनीहरूले विक्री गरेका थिए। प्रहरीले उनीहरूको साथबाट लुटिएको पेस्तोलसहित १५ राउन्ड गोलीसमेत फेला पारेको छ।

प्रहरीका अनुसार प्रहरीबाट लुटिएको पेस्तोल तहगत रुपमा विक्रीहुँदै मल्लकोमा पुगेको थियो। कपडा ब्यापारी रहेका मल्लले सो पेस्तोल एक लाखमा किनेको खुलेको छ। उनले पेस्तोल किनेर कपडा पसलको चेन्जिङ रुममा राखेका थिए।

पाँचै जनामाथि हातहतियार तथा खरखजानाको आरोपमा काठमाडौं जिल्ला अदालतमा पेस गर्दा अदालतले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको छ।

कात्तिक १४, २०८२ शुक्रबार १७:२२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।