एक लाहुरेको पेन्सनबाट बनेको विद्यालयले बदलिएको ‘डाँडागाउँ’

एक लाहुरेको पेन्सनबाट बनेको विद्यालयले बदलिएको ‘डाँडागाउँ’

काठमाडौं : बुढानिलकण्ठमाथि शिवपुरी राष्ट्रिय निकुञ्ज छिचोल्दै नुवाकोट जाने नाकामा रहेको डाँडागाउँमा एउटा मात्र विद्यालय छ, बाल विकास समाज आधारभूत विद्यालय। यो गाउँका स्थानीयलाई साक्षर बनाउने यो एक मात्र माध्यम हो।

२००७ सालको प्रजातन्त्र पछि यो गाउँमा पनि विद्यालय खुलेको थियो। तर केही समयमै बन्द भयो। डाँडागाउँबाट तल झरेर पढ्न जान सक्ने बाहेक अन्य स्थानीयले लामो समय पढ्न पाएनन्। २०४६/०४७ सालको राजनीतिक परिवर्तन पछि नेताहरु गाउँगाउँ छिर्न थाले।

यहाँका गाउँलेहरूले विद्यालय खोल्न माग गरिरहे। तर कसैको प्राथमिकतामा विद्यालय परेन। २०४८ सालमा स्थानीय चन्द्र बहादुर लामा ‘लाहुर’बाट सेवा निवृत्त भइ गाउँ फर्किए। अनि उनले नै आफ्नो पेन्सनबाटै गाउँमा विद्यालय बनाइदिए।

स्थानीय ठुली लामाले विद्यालयको लागि छ आना जग्गा दिएपछि झन् सहज भयो। टहरा हुँदै संचालन भएको विद्यालयको अहिले ठूलो भवनमा छ। 

त्यसबेला भर्खरै एसएलसी दिएर बसेका धोर्जे तामाङलाई स्थानीयलाइ पढाउन आग्रह गरियो। उनी गाउँको पहिलो एसएलसी दिने व्यक्ति समेत हुन्। उनले लामो समय यहाँका विद्यार्थीलाई सबै विषय एक्लै पढाए। उनी मास्टर भएकै केही समयमा शिक्षक सेवा आयोगको परीक्षा पनि दिए अनि प्रधानाध्यापक पनि भइहाले। 

अहिले पनि विद्यालयको नेतृत्व उनैले गरिरहेका छन्। स्थानीय तहले पनि अहिले विद्यालयलाई प्राथमिकता दिएको उनले बताए। 

‘मैले सात वर्षको उमेर हुँदा यहीको तलको गणेश स्कुल पढेँ। पछि पञ्चकन्या पढे अनि बुढानिलकण्ठ सरकारी आकुलनि पढें,’ आफू डाँडा ओहोरदोहोर गर्दै पढेको सम्झिँदै उनले भने, ‘हामीलाई जंगलको बाटो ओहोरदोहोर गर्दै स्कुल पढ्न निकै सकस हुन्थ्यो। धेरैको पढाइ छुटेको थियो। हाम्रो गाउँले शिक्षा र स्कुल दुवै पाउन निकै समय लाग्यो।’ 

गाउँमा विद्यालय खुले पछि यहाँका सतप्रतिशत बालबालिकाहरू विद्यालय जाने गरेको उनले बताए। कच्ची भवनमा पढाइ भइरहेको विद्यालयमा जापानीज दाताको सहयोगमा पक्की भवन बन्यो। २०६६/०६७ सालमा बनेको त्यही भवनमा अहिले पनि विद्यार्थीहरू मज्जाले पढिरहेका देखिन्छन्। 

‘काठमाडौं नै भए पनि यहाँका गाउँलेहरूले शिक्षाको लागि गर्नु परेको संघर्ष अहिले सम्झिँदा कथा जस्तै लाग्न थालिसक्यो। हामीलाई भन्दा अझ छोरी मान्छेहरूलाई जंगलको बाटो हुँदै स्कुल जान आउन निकै गाह्रो थियो,’ प्रधानाध्यापक तामाङले अतितका दिन सम्झिए। 

डाँडागाउँमा विद्यालय खुले पछि धेरै परिवर्तन भएको उनले अनुभव गरेका रहेछन्। सुरुको दिनमा प्रत्येक घरमा गएर उनले स्थानीय बालबालिकालाई विद्यालयमा पढ्न बोलाउन गए। उनले ‘एक घर, एक एसईई’ योजना अगाडि बढाएका थिए। 

‘अहिले हेर्दा हाम्रो गाउँमा हरेक घरमा एसईई पढेकाहरु छन्,’ उनले खुसी हुँदै सुनाए, ‘अहिले हामीले आठ कक्षासम्म संचालन गरिराखेका छौं । यहाँ पढाउने शिक्षकहरू पनि प्राय यही पढेकाहरू छन्। हाम्रो विद्यार्थीहरू बुढानिलकण्ठमा नाम निकालेर पढिरहेका छन्।’ 

भौगोलिक दुरीको समस्या उस्तै

पूर्व, उत्तर र दक्षिण गरि तीनवटा डाँडागाउँको भाग शिवपुरी राष्ट्रिय निकुञ्जले घेरेको छ। पश्चिमपट्टि टोखा नगरपालिकाको वडा नम्बर एक जोडिएको छ। तर त्यहाँ पनि बाक्लो बस्ती भने छैन। यहाँ पुग्न बुढानिलकण्ठबाट साढे तीन घण्टा लाग्छ।  

अहिले ७० देखि ८० घरधुरी संख्या भएको डाँडागाउँमा कुनै पनि हालतमा विद्यालय निरन्तर चल्न पर्ने अवस्था रहेको प्रधानाध्यापक तामाङ बताउँछन्। पाँच किलोमिटरको दुरीमा रहेको डाँडागाउँमा जंगलको बीचबाट हिँड्दै ओहोरदोहोर गर्नु सुरक्षाको दृष्टिकोणले पनि चुनौतीपूर्ण छ। विशेषगरी विद्यार्थीहरूको लागि यो निकै कष्टकर छ। 

डाँडागाउँमा पछिल्लो समय पर्यटकीय हिसाबले चहलपहल शुरु भएको छ। यातायातको चाप र जंगली जनावरको कारणले दुर्घटना हुने जोखिम भने छ।

‘कमसेकम माध्यमिक विद्यालय तहसम्म यही पढाइ भयो भने हाम्रा विद्यार्थीहरूलाई थप सहज हुन्छ,’ उनले भने, ‘नत्र भने नौ/दश कक्षा पढ्नको लागि अझै पनि विद्यार्थीलाई निकै सास्ती छ।’ 

‘माध्यमिक तहसम्म यही पढाइ हुँदा विद्यार्थीहरू १६/१७ वर्ष उमेरको भइसक्छ। त्यति उमेरको भए पछि केही हदसम्म आफ्नो ज्यानको सुरक्षा आफैले पनि गर्न सक्छ,’ उनले थपे।

उनले यस विषयमा स्थानीय सरकारसँग पनि कुरा गरेका रहेछन्। नगरपालिकाबाट सकारात्मक प्रतिक्रिया आएको उनी बताउछन्। विद्यालयले बाहिर गएर पढेका आफ्ना विद्यार्थीहरूलाई प्रोत्साहन गरिरहेको छ।

‘तुलनात्मक रुपमा त्यसबेला विद्यार्थीहरू पनि बढी थिए। परिवार नियोजनको कुरा आएको थिएन। विद्यालय जान नपाउनेहरू पनि धेरै थिए,’ उनी भन्छन्, ‘एकै परिवारका छ जना एकै पटक पढ्न आएको पनि रेकर्ड छ। दाजुभाई पढेका दिदी-बहिनीहरु यहाँ आएर पढ्न आउनु भएको पनि छ।’

धेरै उमेर भएकाहरू पनि सानो कक्षामा निकै उत्सुकताका साथ पढ्न आएको उनले बिर्सिएका छैनन्। अहिले पनि १६/१७  जना आमाहरूलाई विद्यालयले पढाउने गरेको देखियो। स्थानीय सरकारले यसलाई पनि नीतिगत रुपमा अगाडि लैजान प्रक्रिया सुरु गरिसकेको छ। 

‘स्कुल जान पर्छ। पढ्न पर्छ भनेर सबैले बुझिसकेका छन्। तर हाम्रो स्कुल बाहेक अहिले डाँडागाउँमा विकल्प छैन,’ उनले भने। विद्यालयमा कम्पाउण्ड, सुरक्षा, कम्प्युटर, अंग्रेजी माध्यम र छात्रवृत्तिको समेत व्यवस्थामा प्रधानाध्यापक तामाङले निकै जोड दिएको देखियो।  

दिवाखाजामा स्थानीय उत्पादन

अधिकांश सामुदायिक विद्यालयहरूमा स्थानीय बालबालिकाको उपस्थिति घटिरहेको समयमा यहाँ भने त्यसो छैन। लगभग शतप्रतिशत स्थानीय बालबालिका नै पढ्ने गर्छन्। अहिले यहाँ ७० जना विद्यार्थी पढिरहेका छन्। 

‘हाम्रै नगरपालिकामा १९ वटा सामुदायिक विद्यालय छ। २/३ हजार विद्यार्थी भएको ठाउँमा समेत एक प्रतिशत पनि स्थानीय बालबालिका छैनन्। यस्तो अवस्थामा मेरोमा थोरै भए पनि लगभग सबै स्थानीय नै पढ्ने गर्छन्,’ उनले भने। 

स्थानीय बालबालिका भएकै कारण समाज र समुदायसँग पनि विद्यालय नजिक भएको उनी बताउछन्।अभिभावकहरू विभिन्न माध्यमबाट विद्यालयसँग जोडिरहेका हुन्छन्।  सरकारले सुरु गरेको दिवा खाजाको अवधारणा  यहाँ निकै राम्रो देखियो। 

स्थानीय उत्पादनहरू नै दिवाखाजाको रुपमा यहाँ प्रयोग भएको देखिन्छ। दिवाखाजाको अवधारणाले पनि समाज र विद्यालयलाई झन् जोडेको उनले अनुभव सुनाए। 

शिक्षक अभाव, प्रअलाई पढाउन भ्याईनभ्याई !

विद्यालयको भौतिक अवस्था पर्याप्त भए पनि बर्खामा भने केही कक्षाकोठामा पानी पस्छ। कक्षाकोठाको पनि अभाव छ। शिक्षकको अभाव पनि उस्तै छ यहाँ।

‘हामीले जस्तो चुनौती आए पनि सामना गरेका छौं। तर शिक्षकको समस्या भने समाधान गर्न नसकिने जस्तै अवस्थामा छ। म आफैले पढाइराख्नु पर्ने अवस्था छ,’ उनि भन्छन्, ‘तर शिक्षक अपुग भयो भनेर बसिराख्ने छुट हामीलाई छैन। अहिले नौ जना शिक्षक अनि नौ वटा नै कक्षा चल्ने भएर सबको काम एकदम टाइट नै छ।’

यस अघि चार जनासम्म निजी स्रोतको शिक्षक राख्नु पर्ने बाध्यता भएकोमा अहिले भने एक जना मात्र निजी शिक्षक यहाँ रहेको उनले बताए। थप शिक्षकको लागि नगरपालिकासँग कुरा पनि गरिसकेका रहेछन्। स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएको कारण आफ्नो विद्यालय पनि प्राथमिकतामा परेको उनी बताउँछन्।

 ‘भौतिक मात्र नभएर शिक्षक नै हाम्रो तीन देखि चार जना सम्म थपेका छौं। वडा देखि लिएर नगरपालिकासम्म राम्रो समन्वय गर्न सक्यौँ भने मात्र सबै राम्रो हुने रहेछ,’ उनी भन्छन्, ‘अहिले हाम्रो नगर शिक्षामा ललित बिक्रम सिंह आउनु भए पछि धेरै राम्रो भइरहेको छ । जनप्रतिनिधीहरूको चासो पनि बढेको छ।’

सबै शिक्षकको जिम्मा नगरपालिकाले लिएको कारण समस्या समाधान हुनेमा उनी ढुक्क सुनिए। स्थानीय सरकार मातहतमा विद्यालय आएको कारण सामुदायिक विद्यालयहरू जनप्रतिनिधिको प्राथमिकतामा परेको र शिक्षकहरूलाई काम गर्न पनि सहज भएको उनले बताए। 

प्राविधिक शिक्षा भविष्यको आवश्यकता 

‘पहिला शिक्षा नै सबै भन्दा पहिलो हो भन्ने लाग्थ्यो। तर अहिले शिक्षासँगै सीप पनि आवश्यक भइसक्यो। विद्यार्थीले डिग्री पास गरे पनि सीप जानेको छैन भने शून्यबाट सुरु गर्नुपर्ने अवस्था छ,’ उनले भने। 

बुढानिलकण्ठ नगरपालिकाले ‘रमाइलो शुक्रबार’ कार्यक्रम चलाईरहेको छ। यसले गर्दा विद्यार्थीहरूले एक दिन आफूलाई मन पर्ने क्रियाकलापमा सक्रिय हुन पाउछन्। डाँडागाउँमा ‘होमस्टे’ लगायतका थुप्रै होटेलहरू संचालनमा छन्। तीनै होटेलहरूमा ‘प्राक्टिकल प्रोजेक्ट’ हरू विद्यार्थीले गर्यो भने दश कक्षा सकिसक्दा अनुभवको दक्षता पनि हुने उनको भनाइ छ। 

‘सर्टिफिकेट हातमा आउँदै गर्दा अनुभव र सीप पनि भयो भने त रोजगारीको लागि गाउँमै बसे पनि दायाँबायाँ बरालिन पर्दैन,’ उनी भन्छन्, ‘नत्र प्लस टू, स्नातक गरेको भन्ने अनि सीप चै केही नभएर अब के गर्ने भन्ने अलमल धेरै भइरहेको छ। अनि फेरी उनीहरू जिरोबाट सुरु गर्न पनि गाह्रो मान्ने गर्छन्।’

निकुञ्जको कारण विस्थापित हुँदै स्थानीय 

२०३२ सालमा जलाधार संरक्षण क्षेत्र घोषित भएको डाँडागाउँ २०४० सालमा भने शिवपुरी जलाधार तथा वन्यजन्तु आरक्षण घोषणा भयो। २०५८ सालमा शिवपुरी राष्ट्रिय निकुञ्ज बनाइयो। २०६५ मा आएर  नागार्जुन क्षेत्र समेत समेटिएर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज बन्यो। 

यसले यहाँका धेरै स्थानीय आफ्नै घर जानबाट रोकिए। विस्थापित हुन पर्ने अवस्था आयो। जंगलको लागि अनेक सुरक्षा र नीति बन्यो। तर स्थानीयको लागि भने कुनै पनि नीति बनेन। स्थानीयहरूले जग्गाको स्वामित्व गुमाउनु परेको धोर्जे बताउँछन्। 

‘निकुञ्जको कारण चाहेर पनि यहाँ कृषि पेशा गर्न सक्ने अवस्था छैन। निकुञ्जको जनावरहरूले निकै समस्या दिइरहेको छ। चाहेर वा नचाहेर अहिले गाउँमा पर्यटन बाहेक अर्को विकल्प छैन,’ उनले भने, ‘त्यै भएर पर्यटनसँग जोडिएको पाठ्यक्रम अनुसारले हामी अघि बढ्ने कि भन्ने पनि सोच बनाउन परेको अवस्था छ।’

उनका अनुसार आठ कक्षा पछि सबै विद्यार्थी डाँडाबाट तल झरेर पढ्न जान सक्ने अवस्था गाह्रो छ। ‘जंगलको बाटो ४/५ बजे पछि हिँड्न गाह्रो छ। आफ्नो सवारी साधन भए पनि बिहान बेलुका सधैं लिन पुर्याउन अभिभावकलाई पनि गाह्रो हुन्छ,’ उनले भने। 

जनावर र मान्छेको द्वन्द्वको समस्या यहाँ पनि छ। यसले गर्दा विद्यार्थीको सुरक्षा र अभिभावकको असहजतालाई पनि ख्याल गर्नु पर्ने चुनौती भएको उनले बताए। विषालु शर्पहरू निकुञ्जमा देखिन थालेको कारण थप डराउनु पर्ने अवस्था भएको उनी बताउँछन्।

निकुञ्ज क्षेत्रमा पक्की सडक बने पनि अन्य निकुञ्ज बाहेक अन्य ठाउँमा भने कच्ची सडक छ। स्थानीयको आर्थिक अवस्था सुधारिँदै जाँदा पढाइमा पनि राम्रो भइरहेको उनको भनाइ छ।

 

 

कात्तिक १४, २०८२ शुक्रबार १८:५४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।