अनमोलले स्वीकारेनन् आफ्नो कमजोरी, उल्टै आलोचकमाथि खनिए

अनमोलले स्वीकारेनन् आफ्नो कमजोरी, उल्टै आलोचकमाथि खनिए
सम्पादन गरिएको तस्विर

काठमाडौं : नेपाली कलाकारहरू कसैले आफ्नो आलोचना गर्यो की आक्रोश पोखिहाल्छन्। आफ्नो कमीकमजोरी कसैले औँल्यायो भने सामाजिक सञ्जालबाट होस् या फोनबाट, थर्काइहाल्छन्। आलोचनालाई सच्चिने अवसरको रुपमा स्विकार्ने दुर्लभै छन्। 

यस्तै, आलोचना गर्नेहरूमाथि खनिन बाँकी रहेका कलाकार थिए- अनमोल केसी। अब उनीपनि त्यो दुर्लभ सूचीमा रहेनन्। उनले पनि आफ्नो आलोचना गर्नेहरूमाथि निकै रुष्ट रूप देखाए। 

गत असोज ३१ गतेबाट हलमा प्रदर्शन भइरहेको फिल्म ‘जेरी अन टप’मा उनको अभिनय पहिलाको तुलनामा सुधार देखिएको छ। त्यसलाई “केही मात्रामा सुधार भएको” टिप्पणी गर्नेहरुसँग उनी निकै रिसाएका रहेछन्।

शुक्रबार  उनले अभिनय गरेको फिल्म ‘जेरी अन टप’ले १० करोड ग्रस कलेक्सन गरेको दाबी गर्दै निर्माण टिमले केही मिडियाकर्मी बोलाएर खुसीयालीमा केक काटे। मिडियाकर्मीहरूलाई साक्षी राखेर केक काट्न पुगेका अनमोलले भने आफू कमजोर हुँदा धेरै जना खुशी भएको बताए।

‘मान्छेहरू सबैभन्दा खुशी कहिले हुँदो रहेछ, थाहा छ?’ उनले आफैं प्रश्न गर्दै भने, ‘अरूको दुखमा। अरूको दुखमा चाहिँ मान्छेहरू सबैभन्दा धेरै खुशी हुँदो रहेछ। यो कुरा म ती व्यक्तिहरूलाई भन्छु, जसले मेरो डाउनफलमा खुशी मनाए। पहिले मैले केही बोलेको थिइनँ, किनभने मेरो कामले प्रुफ गर्न सकेको थिइनँ। तर आज म बोल्दैछु, किनभने मेरो कामले बोलिसकेको छ, फिल्मले बोलिसकेको छ।’

आफूलाई आलोचना गर्नेहरूमाथि खनिँदै उनले थपे, ‘आज मैले ती व्यक्तित्वहरू सम्झिन चाहें, जो मेरो डाउनफलमा खुशी हुनुभएको थियो। उहाँहरू सबैलाई म भन्न चाहन्छु- तपाईँहरू खुशी हुनुहोस्, धेरै खुशी हुनुहोस्। त्यतिबेला म बोलेको थिइनँ, आज पनि बोल्नेवाला छैन।’

उनले आफूलाई आलोचना गर्नेहरूलाई आफ्नै दर्शकले जवाफ दिने बताए। ‘अब मेरो भगवान स्वरूप दर्शकले तपाईँहरूसँग बोल्नेवाला छन्,’ उनले भने, ‘मेरो हरेक दर्शकले तपाईँहरूको गालीमा बोल्नेछ, हरेक आलोचनामा प्रतिक्रिया दिनेछ।’‘होस्टेल’बाट अभिनेताका रूपमा डेब्यु गरेका अनमोल जेरी अन टपको व्यापारिक सफलताबाट हौसिएको प्रस्टै देखियो। व्यवसायीक रुपमा सबैभन्दा धेरै कारोबार गर्ने फिल्म यही जेरी अन टप बनेको छ।

‘जेरी’, ‘ड्रिम्स’, ‘गाजलु’, ‘छड्के २’ हुँदै ‘जेरी अन टप’सम्म आइपुग्दा उनको अभिनयस्तरमा केही सुधार पक्कै देखिएको छ। तर देखिस् हैन त मेरो कमाल भन्ने पाराले हौसिहाल्नुपर्ने तहमा अझै सुधार भएको छैन। त्यसैले आलोचकलाई देखिस् हैन भनेर चुनौती दिनुको साटो अभिनयमा अझै सुधारे उत्तम। नत्र एक पटक छड्के २ सम्झिए पनि हुन्छ।

कात्तिक १४, २०८२ शुक्रबार १६:४४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।