खण्डहर बन्यो गणतन्त्रको साक्षी : जेन-जी विध्वंसमा नष्ट भयो २०६४ देखिका 'रिडिङ पेपर'

खण्डहर बन्यो गणतन्त्रको साक्षी : जेन-जी विध्वंसमा नष्ट भयो २०६४ देखिका 'रिडिङ पेपर'

काठमाडौँ : नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेललन केन्द्र केवल एक सभा हल मात्र थिएन, माओवादी र सरकारबीच भएको बृहत् शान्ति सम्झौतादेखि गणतन्त्रसम्मको साक्षी थियो।

पहिलो पटक जनप्रतिनिधिबाट बनेको संविधान ‘नेपालको संविधान २०७२’ यहीबाट जारी भएको थियो। शान्ति सम्झौतादेखि गणतान्त्रिक नेपालको घोषणासम्मको साक्षी यही भवन  भ्रष्ट्राचार नियन्त्रण र बेथिति विरुद्धमा भदौ २३ बाट सुरु भएको जेन-जी पुस्ताको आन्दोलनले खण्डहर बनायो।

२०७२ असोज ३ मा संविधान सभा रहेको सम्मेलन केन्द्रमा संविधान जारी गर्दै तत्कालीन राष्ट्रपति डा. रामवरण यादव। तस्वीरः हिमालखवर/ बिक्रम राईसंविधान सभा भवन हुँदै संसद्मा बदलिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र कब्जा गर्न राजावादीहरूले पटक पटक प्रयास गरे पनि सफल भएका थिएनन्। जेन-जी आन्दोलनको पहिलो दिन सुशासनको माग गर्दै सुरु भएको जेन-जी आन्दोलनमा संलग्नहरूले पनि त्यही संसद् भवनलाई टार्गेट बनाए।

संसद्को सुरक्षामा खटिएको सुरक्षाकर्मीले गोली चलाउँदा पहिलो दिनमै १९ जना मारिए। त्यसको आक्रोशमा दोस्रो दिन सुरु भएको प्रदर्शन ध्वंसात्मक बनेपछि त्यही इतिहासको साक्षी सम्मेलन केन्द्र जोगिन सकेन।

मध्य शहरको बिचमा रहेको त्यही सम्मेलन केन्द्र पुग्दा निकै टिठ लाग्दो देखियो। संसद्को गतिविधि सम्बन्धी रिपोर्टिङमा जाँदा निकै भव्य देखिने यो भवन खण्डहर बनेर ठिङ्ग उभिए जस्तै देखियो।

दुई वटा प्रमुख बैठक कक्ष, दुवै सभाका सभाध्यक्ष, प्रधानमन्त्री, विपक्षी दलका नेता, संसदीय दलका प्रमुखहरूको कार्यकक्ष, सचिवालयका पदाधिकारीहरू एवम् कर्मचारीहरूको कार्यकक्ष, अन्य बैठक तथा कार्यक्रम हलहरू केही जोगिएन आगोबाट। कुनै भौतिक संरचना सग्लो भेटिएन।

भदौ २४ मा संसद भवनमा प्रवेश गरेर तोडफोड र आगजनी गर्दै प्रदर्शनकारी।यति मात्रै हैन, बैठक सञ्चालनका लागि प्रयोग हुने सम्पूर्ण प्राविधिक प्रणाली नष्ट भए। बैठक सञ्चालन हुँदा प्रयोग हुने अडियो कन्फरेन्सिङ, भिडियो कन्फरेन्सिङ सिस्टम, युट्युब लाइभ प्रसारणका लागि प्रयोग हुने मास्टर कन्ट्रोल रुम, र न्युज च्यानल र न्युज एजेन्सीहरूले प्रत्यक्ष रेकर्डिङ गर्ने व्यवस्था भएको मिडिया सेन्टर केही जोगिएन।

कम्प्युटर, मनिटर, डेस्कटप, सर्भर, क्यारेक्टर जेनरेटर मेसिन, व्यक्तिगत ल्यापटप, ट्याब्लेट तथा अफिसका सामग्रीहरू समेत जलाएर नष्ट पारियो।

तोडफोड र आगजनीपछिको अवस्थासङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संसद्को नेटवर्क अट्याच स्टोरेज  (NAS) डिभाइस समेत पुरै नष्ट भएको छ, जसमा आगो लगाउनु भन्दा १५/२० दिन अघिको सभाका काम-कारवाहीका उच्च गुणस्तरको भिडियो फाइलहरू भण्डारण गरिएको थियो।

यद्यपि संसद्को गतिविधिको रेकर्ड पन्ध्र देखि ३० दिनपछि सिंहदरबारमा रहेको सचिवालयको सर्भरमा ब्याकअप राखिने भएकाले ती सुरक्षित छन्। तर हालैका बैठकका फाइलहरू भने नष्ट भए।

प्रवक्ता गिरीका अनुसार दुवै सभाका सभाध्यक्षले बैठक सञ्चालन गर्दा पुर्याउनु पर्ने विधि सहितको 'रिडिङ पेपर' जलेर नष्ट भएको छ। कार्यसूची सहित बैठकका दौरान भएको भिडियो क्यामेराले समेत कैद गर्न नसक्ने खालको सबै 'अदृश्य' घटनाहरू समेत टिपोट गरिएको २०६४ सालदेखिका 'रिडिङ पेपर' को हार्डकपीहरू जलेर पूर्ण रूपमा नष्ट भएको उनले बताए।

बैठक सञ्चालनमा त्यहाँ उपस्थित हुने सभाध्यक्षसंगै महासचिवको, सम्बन्धित सभाको सचिवको, कार्यव्यवस्था महाशाखा प्रमुखको, शाखा प्रमुखहरूको फाइल त्यही हुन्छ।

प्रतिनिधिसभाको बैठक कक्ष

“सफ्ट कपिमा हुँदै नभएको त हैन तर त्यहाँ भएको घटनाहरू समावेश भएको हातैले लेखेर राखिएको 'रिडिङ पेपर' भने अब छैन” गिरीले भने, “यी महत्त्वपूर्ण अभिलेख अब रिट्राइभ गर्न सम्भव छैन। विभिन्न शाखा-महाशाखाका कम्प्युटर र हार्ड ड्राइभमा स्टोर गरिएका अधिकांश डकुमेन्टहरू पनि नष्ट भएको छ।”

बानेश्वरको भवनमा मात्रै हैन सिंहदरबारस्थित सचिवालयको भवनमा समेत आगो लगाइएको थियो। भवनको नम्बर १ को पूर्व पट्टिको भागमा तोडफोड र आ लगाइएको थियो।

भवन सँगै एक हजार लिटर जति डिजेल लोड भएको जेनरेटर थियो। त्यसमा आगो सल्किएको भए सिंहदरबारको भवन ध्वस्त हुन सक्थ्यो। त्यहाँ रहेको नेपालको संसदका सबै महत्त्वपूर्ण सामग्री नष्ट हुन सक्थे। तर कर्मचारीहरूले रातीसम्म बसेर पानी हालेर आगो निभाउँदा फैलन पाएन।

“सिंहदरबारस्थित कार्यालयमा रहेको २०१६ सालपछिका सबै डकुमेन्टहरू भने सुरक्षित रह्यो” प्रवक्ता गिरीले भने।

 सम्मेलन केन्द्रको संरचनाको आर्थिक मूल्याङ्कन जटिल बनेको भन्दै गिरीले मुचुल्का उतार्ने काम लगभग अन्तिम चरणमा पुगेको जानकारी दिए।

सो सम्मेलन केन्द्र चीनले दुई अर्बमा बनाएर नेपाल सरकारलाई उपहार दिएको थियो। २०७२ को भूकम्पपछि सिंहदरबारमा रहेको संसद भवन जिर्ण भएसँगै सरकारले सम्मेलन केन्द्र भाडामा लिएर संसद भवनको रुपमा प्रयोग गर्दै आएको थियो। सो भवनमा संसद रहेकै कारण जलाइएको थियो। तर जले लगत्तै संसद सचिवालयले सो भवन भाडामा प्रयोग नगर्ने भन्दै शहरी विकास मन्त्रालयलाई जानकारी गराएको थियो।

राष्ट्रिय सभाको बैठकआगो लगाइएपछिको प्रतिनिधि सभाको बैठक कक्ष

कात्तिक १४, २०८२ शुक्रबार १६:४४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।