जेन-जी आन्दोलन : राष्ट्रपति कार्यालयबाटै प्रिन्टर र राउटर चोरेको आरोपमा ३ युवकविरुद्ध मुद्दा

जेन-जी आन्दोलन : राष्ट्रपति कार्यालयबाटै प्रिन्टर र राउटर चोरेको आरोपमा ३ युवकविरुद्ध मुद्दा

काठमाडौं : गत भदौमा भएको ‘जेन-जी’ आन्दोलनका क्रममा राष्ट्रपति कार्यालयबाट सामान चोरी गरेको तथा सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गरेको आरोपमा १९ वर्षीय तीन युवकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले बैतडीका दिपक बोहरा, विशाल सिंह कार्की र बझाङका हेमन्त बोहराविरुद्ध चोरी तथा आपराधिक उपद्रवको कसुरमा अभियोगपत्र दर्ता गरेको हो।

अभियोगपत्र अनुसार, प्रतिवादी दिपक बोहराले २०८२ भदौ २४ गतेको आन्दोलनका क्रममा राष्ट्रपति भवन, महाराजगञ्जबाट एउटा ‘क्यानन’ कम्पनीको प्रिन्टर र एउटा ‘एलबी-लिङ्क’ को वाई-फाई राउटर चोरेर आफ्नो डेरामा लुकाएको आरोप छ। बरामद भएको प्रिन्टरको मूल्य १५,००० रुपैयाँ र राउटरको मूल्य १,५०० रुपैयाँ कायम गरिएको छ।

त्यस्तै, प्रतिवादीहरू विशाल सिंह कार्की र हेमन्त बोहराले सार्वजनिक सम्पत्तिमा आगजनी गरी हानी-नोक्सानी पुर्याएको भिडियो फुटेजका आधारमा उनीहरूमाथि आपराधिक उपद्रवको कसुरमा अभियोग लगाइएको छ।

यसरी भएको थियो घटना र पक्राउ
प्रहरी प्रतिवेदनअनुसार, भदौ २३ र २४ गतेको आन्दोलनमा भएको तोडफोड र लुटपाटमा संलग्नहरूको खोजी गर्ने क्रममा प्रहरीले असोज १९ गते काठमाडौं महानगरपालिका-२२, सुन्धारास्थित लुम्बिनी होटल एण्ड गेस्ट हाउसमा छापा मारेको थियो। सोही होटलको कोठा नम्बर ३०१ मा बस्दै आएका तीनै जनालाई चोरीका सामानसहित पक्राउ गरिएको थियो।

अनुसन्धानका क्रममा प्रतिवादीहरूले दिएको बयानमा दिपक बोहराले राष्ट्रपति कार्यालय अगाडिबाट प्रिन्टर र राउटर आफूले उठाएर ल्याएको स्वीकार गरेका छन्।

अन्य दुई प्रतिवादी विशाल र हेमन्तले भने आफूहरूले चोरी नगरेको तर आन्दोलनमा सहभागी भई भिडियो बनाएको र विशालले ट्राफिक प्रहरी कार्यालयमा जलेको आगोमा एउटा कुर्सी फालेको स्वीकार गरेका छन्। उनीहरूले दिपकलाई चोरीको सामान फिर्ता गर्न भने पनि नमानेको बयान दिएका छन्।

सरकारी वकिल कार्यालयले दिपक बोहरालाई मुलुकी अपराध संहिता, २०७४ को दफा २४१ अनुसार चोरी कसुरमा र विशाल सिंह कार्की तथा हेमन्त बोहरालाई सोही संहिताको दफा २८५ अनुसार आपराधिक उपद्रव कसुरमा सजाय हुन मागदाबी गरेको छ।

अभियोगपत्रमा प्रहरी प्रतिवेदन, खानतलासी मुचुल्का, घटनास्थल मुचुल्का, प्रतिवादीहरूको बयान, भिडियो फुटेज र अन्य प्रमाणहरू संलग्न गरिएको छ। चोरी भएका सामानहरू राष्ट्रपति कार्यालयको भएको सनाखत भइसकेकाले फिर्ता गराउन पनि माग गरिएको छ।

मुद्दाको प्रक्रिया अब काठमाडौं जिल्ला अदालतमा अघि बढ्नेछ।

कात्तिक १४, २०८२ शुक्रबार १३:१३:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।