मैदान बाहिर टिमको ‘ब्याटल’, हेमन्त धामीलाई लिएर रोयल्स र बोल्ट्सबीच 'एक्स जुहारी'

मैदान बाहिर टिमको ‘ब्याटल’, हेमन्त धामीलाई लिएर रोयल्स र बोल्ट्सबीच  'एक्स जुहारी'

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण शुरू हुन केही हप्ता बाँकी छँदै मैदान बाहिरको माहौल तातिएको छ।

गत सिजनका फाइनल खेलेका टोलीहरू सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच सामाजिक सञ्जाल ‘एक्स’ (पहिलेको ट्वीटर) मा रोचक जुहारी चलेको हो, जसको केन्द्रमा छन् बलर हेमन्त धामी।

गत सिजनका विजेता जनकपुर बोल्ट्सबाट यस सिजन सुदूरपश्चिम रोयल्समा अनुबन्धित भएका हेमन्तलाई प्रस्तुत गर्दै रोयल्सले एनपीएललाई मेन्सन गरी खेल तालिका छिटो सार्वजनिक गर्न आग्रह गरेको थियो।

रोयल्सले हेमन्तको भिडियो सन्देशसहित जनकपुर बोल्ट्सलाई मेन्सन गर्दै लेख्यो, ‘हाम्रा नयाँ खेलाडीले हाम्रा असल मित्र जनकपुर बोल्ट्सलाई सन्देश पठाएका छन्। अर्को रोमाञ्चक प्रतिस्पर्धाको प्रतीक्षामा छौँ।’

रोयल्सले राखेको एक भिडियोमा धामीले भनेका छन्, ‘सी यु सुन!’

रोयल्सको यो ट्वीटको जवाफमा साविक विजेता जनकपुर बोल्ट्सले पनि रमाइलो र चोटिलो जवाफ फर्कायो। बोल्ट्सले लेख्यो, ‘हामीसँगै उपाधि उचालेर अहिले हाम्रो विरुद्धमा खेल्दै! हेमन्तले सायद आफ्नो च्याम्पियन मेडल देखाउलान्। छिट्टै भेटौँला च्याम्प!’

यो संवादले दुई टोलीबीचको प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाएको छ। गत सिजनको लिग चरणमा रोयल्सले बोल्ट्सलाई दुई पटक पराजित गरेको थियो। तर, फाइनलमा भने बोल्ट्सले बदला लिँदै उपाधि आफ्नो पोल्टामा पारेको थियो।

खेलाडी स्थानान्तरण र सामाजिक सञ्जालमा चलेको यो जुहारीले एनपीएलको दोस्रो संस्करणप्रति समर्थकहरूको उत्साहलाई थप बढाएको छ। अब सबैको नजर यी दुई टोलीबीचको भिडन्तमा केन्द्रित हुनेछ।

कात्तिक १४, २०८२ शुक्रबार ११:१९:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।