अतिक्रमित र मापदण्डविपरीतका संरचना हटाउन महानगर र प्राधिकरणको सात दिने अल्टिमेटम

अतिक्रमित र मापदण्डविपरीतका संरचना हटाउन महानगर र प्राधिकरणको सात दिने अल्टिमेटम

काठमाडौं : काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका र मापदण्डविपरीतका सम्पूर्ण संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ।

दुवै निकायले आज एक संयुक्त सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र त्यस्ता संरचना नहटाएमा कारबाही गरेर भत्काइने चेतावनी दिएका छन्।

सूचनाअनुसार, गत असोज २ गते बसेको दुवै निकायको संयुक्त बैठकले सार्वजनिक जग्गा अतिक्रमण र मापदण्डविपरीतका निर्माणलाई हटाउने निर्णय गरेको थियो।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारी र दायित्व स्थानीय तहको भएकोले यो कदम चालिएको सूचनामा स्पष्ट पारिएको छ।

‘यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र अतिक्रमित सार्वजनिक जग्गा र मापदण्डविपरीतका संरचनाहरू हटाई सहयोग गरिदिनुहुन जानकारी गराइन्छ’, सूचनामा भनिएको छ।

यो निर्देशन काठमाडौं महानगरपालिका क्षेत्रभित्र र यसको सिमानासँग जोडिएका काठमाडौं जिल्लाका अन्य क्षेत्रमा समेत लागू हुनेछ।

साथै, सर्वसाधारण नागरिकले पनि यस्ता अवैध संरचनाबारे सम्बन्धित निकायमा जानकारी गराएर सहयोग गर्न सक्ने सूचनामा उल्लेख छ।

यो कदमलाई काठमाडौंको अव्यवस्थित बसोबास र अतिक्रमण नियन्त्रण गर्ने दिशामा चालिएको एक महत्त्वपूर्ण संयुक्त प्रयासको रूपमा हेरिएको छ।

कात्तिक १४, २०८२ शुक्रबार १०:५७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।