पोखरामा ‘क्रिकेटका लागि नेपथ्य’ कन्सर्ट, टिकटको सट्टा टोलीको जर्सी अनिवार्य

पोखरामा ‘क्रिकेटका लागि नेपथ्य’ कन्सर्ट, टिकटको सट्टा टोलीको जर्सी अनिवार्य

पोखरा : चर्चित सांगीतिक ब्यान्ड नेपथ्यले नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्ससँगको सहकार्यमा पोखरामा एक विशेष कन्सर्ट गर्ने भएको छ।

‘क्रिकेटका लागि नेपथ्य’ नारा दिइएको उक्त कन्सर्ट आउँदो नोभेम्बर ७ (शुक्रबार) पोखरा रंगशालास्थित फुटबल मैदानमा आयोजना हुनेछ।

यस कन्सर्टको मुख्य विशेषता भनेको प्रवेशका लागि टिकटको व्यवस्था नहुनु हो। दर्शकहरूले कन्सर्टमा सहभागी हुन पोखरा एभेन्जर्सको आधिकारिक जर्सी खरिद गर्नुपर्नेछ।

पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीका अनुसार, संगीत र क्रिकेटलाई जोड्ने यो एक नौलो प्रयास हो।

‘कन्सर्टमा सहभागी हुन दर्शकले पोखरा एभेन्जर्सको जर्सी खरिद गर्नुपर्नेछ,’ उनले भने, ‘क्रिकेटको विकासमा लिजेन्ड्री ब्यान्ड नेपथ्यसँग जोडिन पाउँदा हामी उत्साहित छौँ।’

जर्सीको मूल्य रु. १४९९ तोकिएको छ, तर पहिलो एक हजार खरिदकर्ताले रु. ९९९ को विशेष छुटमा पाउनेछन्। कन्सर्टबाट संकलित रकम गण्डकी प्रदेशका सामुदायिक विद्यालयहरूमा क्रिकेट सामग्री वितरण गर्न खर्च गरिने अध्यक्ष त्रिपाठीले जानकारी दिए।

हालै पोखरामा आयोजित एनपीएलको ट्रफी टुर कार्यक्रममा बोल्दै नेपथ्यका प्रमुख गायक अमृत गुरुङले यस सहकार्यप्रति खुसी व्यक्त गरे। उनले ५० वर्षअघि पोखरामा खेल पूर्वाधार नभएको स्मरण गर्दै आज बनेको रंगशालाले खेलाडी र खेलप्रेमीमा नयाँ ऊर्जा थपेको बताए।

‘नेपाली क्रिकेट आज जुन स्तरमा छ, त्यो गौरव गर्न लायक छ। अबको लक्ष्य विश्वकप जित्ने हुनुपर्छ,’ गुरुङले भने, ‘हाम्रो शुभकामना सधैँ साथमा छ।’

नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आगामी मंसिर १ गतेदेखि सुरु हुँदैछ।

कात्तिक १४, २०८२ शुक्रबार १०:१०:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।