काभ्रेमा मानव कङ्काल फेला, दुई महिनादेखि हराइरहेका व्यक्तिको भएको पुष्टि
 
                    
                    
                    
                    काभ्रे : काभ्रेको पनौती नगरपालिका-३ स्थित एक बारीमा बुधबार मानव कङ्काल फेला परेको छ। उक्त कङ्काल करिब दुई महिनादेखि हराइरहेका एक व्यक्तिको भएको प्रहरीले पुष्टि गरेको छ।
प्रहरीका अनुसार, पनौती-३, नियालो भञ्ज्याङस्थित स्थानीय जनक सापकोटाको पाखो बारीमा रहेको काफलको रुखमुनि स्थानीयले कङ्काल देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलमा प्रहरीले काफलको बोटमा हरियो रङको पछ्यौरी झुन्डिएको अवस्थामा फेला पारेको छ। नजिकै एक जोर निलो चप्पल र कालो रङको ट्र्याकसुट पनि भेटिएको थियो।
प्रहरी अनुसन्धानका क्रममा मृतकको पहिचान ओखलढुङ्गाको मेलुङ गाउँपालिका-८ घर भई हाल पनौती-१ मा डेरा गरी बस्दै आएका ३६ वर्षीय फुर्वा तामाङको रूपमा भएको छ। उनकी श्रीमती डोल्मा शेर्पाले मृतकको मोबाइलमा रहेको सिमकार्डका आधारमा सनाखत गरेकी हुन्।
फुर्वा गत भदौ १२ गतेदेखि सम्पर्कविहीन भएका थिए र उनको परिवारले भदौ १४ गते प्रहरी चौकी कुशादेवीमा हराएको निवेदन दिएको थियो।
प्रहरीले घटनास्थलको मुचुल्का उठाएर कङ्काललाई पोष्टमार्टमका लागि धुलिखेल अस्पताल पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ।
कात्तिक १४, २०८२ शुक्रबार ०९:५१:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    