सिन्धुलीमा करेन्ट लगाएर माछा मार्न खोज्दा युवकको मृत्यु
 
                    
                    
                    सिन्धुली : सिन्धुलीको तिनपाटन गाउँपालिकामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ। मंगलबार राति भएको उक्त घटनामा तिनपाटन-१० निवासी २० वर्षीय धनबहादुर लामिछाने मगरको ज्यान गएको हो।
प्रहरीका अनुसार, धनबहादुर आफ्ना तीन जना साथीहरू- सूर्य पुलामी, रुद्रबहादुर लुङ्गेली र लेखबहादुर थापासँगै स्थानीय लङ्गुरखोलामा माछा मार्न गएका थिए। उनीहरूले नजिकै रहेको एक खाली घरबाट अवैध रूपमा बिजुलीको तार जोडेर खोलामा करेन्ट प्रवाह गरेका थिए।
सोही क्रममा अचानक करेन्ट लागेर धनबहादुर गम्भीर घाइते भएका थिए। घाइते उनलाई उपचारका लागि लङ्गुरखोला आधारभूत स्वास्थ्य केन्द्रमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे बुधबार बिहान जानकारी पाएलगत्तै प्रहरी चौकी चकमके र इलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले शवलाई स्वास्थ्य केन्द्रमा सुरक्षित राखेको छ र घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
कात्तिक १४, २०८२ शुक्रबार ०९:४६:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    