नेपाल प्रिमियर लिगलाई पल्सरको साथ, उत्कृष्ट तीन खेलाडीले एन१६० मोटरसाइकल पाउने
 
                    
                    
                    
                    काठमाडौं : मोटरसाइकल ब्रान्ड बजाज पल्सर, नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि आधिकारिक ‘टु-ह्वीलर पार्टनर’ बनेको छ।
यो साझेदारी अन्तर्गत प्रतियोगिताका तीन उत्कृष्ट खेलाडीहरूलाई पल्सर एन१६० मोटरसाइकल पुरस्कार स्वरूप प्रदान गरिनेछ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा गोल्छा ग्रुप र नेपाल क्रिकेट संघ (क्यान) बीच प्रायोजन सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र क्यानका सचिव पारस खड्काले हस्ताक्षर गरे।
सम्झौता अनुसार, प्रतियोगिताका सर्वाधिक रनकर्ता ब्याट्सम्यान, सर्वाधिक विकेट लिने बलर र उत्कृष्ट उदीयमान (इमर्जिङ) खेलाडीले एक-एक थान पल्सर एन१६० मोटरसाइकल प्राप्त गर्नेछन्।
कार्यक्रममा बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भन्नुभयो, ‘पल्सर सधैँ खेलकुद र युवा ऊर्जासँग जोडिएको ब्रान्ड हो। एनपीएलमार्फत नेपाली क्रिकेटलाई थप ऊर्जा र प्रेरणा मिल्ने हाम्रो विश्वास छ।’
त्यस्तै, क्यानका सचिव पारस खड्काले पल्सरजस्तो प्रतिष्ठित ब्रान्डसँगको सहकार्यले नेपाली क्रिकेटलाई थप बल पुग्ने बताए।
उनले भने, ‘एनपीएलको तयारी अन्तिम चरणमा छ र हामी केही दिनभित्रै पत्रकार सम्मेलनमार्फत सम्पूर्ण जानकारी सार्वजनिक गर्नेछौँ।’
नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आगामी मंसिर १ गतेदेखि सुरु हुँदैछ।
कात्तिक १४, २०८२ शुक्रबार ०७:४४:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    