अस्ट्रेलियाले दिएको ३३९ रनको लक्ष्य पछ्याउँदै भारत महिला क्रिकेट विश्वकपको फाइनलमा

अस्ट्रेलियाले दिएको ३३९ रनको लक्ष्य पछ्याउँदै भारत महिला क्रिकेट विश्वकपको फाइनलमा

काठमाडौं : जेमिमा रोड्रिग्सको अविजित सानदार शतक र कप्तान हरमनप्रीत कौरको उत्कृष्ट अर्धशतकको मद्दतले भारतीय महिला क्रिकेट टोलीले अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै महिला विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ।

मुम्बईको डीवाई पाटिल स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले दिएको ३३९ रनको विशाल लक्ष्य भारतले ४८.३ ओभरमा ५ विकेट गुमाएर सफलतापूर्वक पूरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा भारतको सुरुवात राम्रो हुन सकेन। ओपनर शेफाली वर्मा (१०) र स्मृति मन्धना (२४) सस्तैमा आउट भएपछि भारत ५९ रनमा २ विकेट गुमाएर दबाबपूर्ण स्थितिमा पुगेको थियो।

तर, तेस्रो विकेटका लागि जेमिमा र कप्तान हरमनप्रीतले १६७ रनको कीर्तिमानी साझेदारी गर्दै भारतलाई खेलमा फर्काए। हरमनप्रीतले ८८ बलमा १० चौका र २ छक्कासहित ८९ रनको महत्त्वपूर्ण पारी खेलिन्।

अर्को छेउबाट टिकेर खेलेकी जेमिमाले १३४ बलमा १४ चौकासहित अविजित १२७ रन बनाउँदै टोलीलाई जित दिलाइन्।

उनको यही अविस्मरणीय प्रदर्शनका लागि उनी ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। अन्त्यमा दीप्ति शर्मा (२४), ऋचा घोष (२६) र अमनजोत कौर (१५*) ले पनि महत्त्वपूर्ण योगदान दिए।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९.५ ओभरमा सबै विकेट गुमाएर ३३८ रन बनाएको थियो।

उसका लागि फिबी लिचफिल्डले मात्र ९३ बलमा १७ चौका र ३ छक्कासहित ११९ रनको विस्फोटक शतकीय पारी खेलेकी थिइन्। त्यसैगरी, एलिस पेरीले ७७ र एश्ले गार्डनरले ४५ बलमा ६३ रनको योगदान दिए।

भारतका लागि बलिङतर्फ श्री चरणी र दीप्ति शर्माले २-२ विकेट लिए भने क्रान्ति गौड, अमनजोत कौर र राधा यादवले १-१ विकेट हात पारे।

यो रोमाञ्चक जितसँगै भारतले महिला विश्वकपको उपाधिका लागि आफ्नो यात्रा तय गरेको छ।

कात्तिक १४, २०८२ शुक्रबार ०७:३८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।