चक्रवात ‘मोन्था’को प्रभाव हट्दै, आज साँझदेखि मौसम सुध्रिने
 
                    
                    
                    
                    काठमाडौं : बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ र न्यूनचापीय प्रणालीको असरले देशका अधिकांश भागमा बदली र वर्षा भइरहेको छ। तर, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज साँझदेखि मौसममा क्रमिक सुधार आउनेछ।
महाशाखाका अनुसार हाल कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही वर्षा भइरहेको छ भने बाँकी प्रदेशमा सामान्य बदली छ। आज दिउँसो यी पाँच प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
विशेषगरी कोशी, मधेस र वाग्मतीका केही स्थान तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही ठाउँमा भने हल्का वर्षाको सम्भावना छ।
यसैगरी, कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै ठाउँमा मध्यम हिमपातको सम्भावना छ। ती प्रदेशका केही स्थानमा भारी हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाले भारी वर्षा र हिमपात हुने क्षेत्रका सर्वसाधारण, किसान, र यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन विशेष आग्रह गरेको छ।
कात्तिक १४, २०८२ शुक्रबार ०७:२७:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    