बाढी, पहिरो र हिमपातको जोखिम बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह
गण्डकी : जिल्ला प्रशासन कार्यालय कास्कीले आगामी दिनहरूमा संभावित बाढी, पहिरो र हिमपातको जोखिम बढ्न सक्ने भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
कार्यालयले आज जारी गरेको सूचनामा जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै गण्डकी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको जनाइएको छ।
त्यसैले वर्षात्का समयमा अनावश्यक रूपमा घर बाहिर ननिस्कन, विशेषगरी रातको समयमा यात्रा नगर्न, र यात्रा गर्नुपरेमा विभागबाट जारी हुने आधिकारिक मौसम सूचनालाई पालना गर्न अनुरोध गरिएको छ।
प्रशासनले बाढीपहिरोको जोखिम भएका बस्तीमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा सार्न र आवश्यक समन्वय गर्न स्थानीय तहलाई निर्देशन दिएको छ। त्यस्तै, सवारीसाधन चलाउँदा अत्यधिक सावधानी अपनाउन, क्षमताभन्दा बढी यात्रु नचढाउन, तथा सडकमा आवतजावत गर्दा सचेत रहन यातायात व्यवसायीलाई पनि आग्रह गरिएको छ।
प्रशासनले विशेषगरी वीरेठाँटी–घान्द्रुक, वीरेठाँटी–उल्लेरी, लुम्ले–लान्द्रुक र काहुँखोला–ताङतिङ/सिक्लेस सडकखण्डमा आज साँझ ५ बजेदेखि भोलि बिहान ६ बजेसम्म सवारी सञ्चालन नगर्न अनुरोध गरेको छ।
त्यस्तै, उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम रहेकाले अन्नपूर्ण बेसक्याम्प, मर्दीहिमाल, खुमैडाँडा, कोरीलगायत ट्रेकिङ मार्गमा मौसम सफा नभएसम्म पदयात्रा नगर्न आग्रह गरिएको छ।
प्रशासनले सबै स्थानीय तह, पर्यटन व्यवसायी, होटल तथा ट्रेकिङ एजेन्सी, नागरिक समाज र सरोकारवाला निकायलाई विपद् जोखिम न्यूनीकरणमा सक्रिय भूमिका खेल्न र कुनै पनि विपद्जन्य घटना भएमा तत्काल स्थानीय प्रशासन, प्रहरी वा सुरक्षा निकायलाई जानकारी गराउन अनुरोध गरेको छ।
कात्तिक १३, २०८२ बिहीबार २०:३३:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।