वरिष्ठ बलराम : निर्देशक बढी बाठो बन्दा पटकथै च्यापियो
गाउँघर रित्तिएका दृश्य, विदेश पलायन भएका सन्तान र कर्मले जोडिएको नातामा आधारित वरिष्ठ बलरामले फिल्मले सामाजिक सन्देश दिन खोजेको छ। अहिले नेपालका गाउँघर बिरानो बनिरहेका छन्। युवा जति विदेश गइरहेका छन्, जीवन्त गाउँहरू निरस वृद्धाश्रम बन्दै गइरहेका छन्। यही पृष्ठभूमिमा फिल्म वरिष्ठ बलरामको निर्माण भएको छ जसले रगतको नाता ठूलो र कर्म भन्ने प्रश्न उठाउने प्रयास गरेको छ।
दयाहाङ–विजयको फरक अभिनय र गीतले फिल्मलाई बलियो बनाउन केही बल दिएका छन्, तर कमजोर पटकथा र सम्पादनले फिल्म निकै फितलो बनेको छ।
सिकर्मीको घरमा झ्यालढोका हुन्न भने जस्तै फिल्म सम्पादनहुँदै निर्देशननमा आएका निर्देशकको सबैभन्दा ठूलो कमजोरी नै सम्पादनमा देखियो। काम नलाग्ने दृश्यहरूको पनि उनले निकै माया गरेको देखियो जसले फिल्मको गति र भावनात्मक सम्बन्ध दुबैमा नकारात्मक प्रभाव परेको छ।
अब कथासार,
कथाको सुरुवात बलराम भट्ट (विजय बराल) बाट हुन्छ। बाटोमा भेटिएका बलरामलाई इन्द्रबहादुर राई (माओत्से गुरुङ) ले आफ्नो घरमा लैजान्छन्। बलराम हुर्किन्छन् र इन्द्रले ऋणमा किनेको ट्याक्टर चलाउन थाल्छन्। तर वरिष्ठ (दयाहाङ राई) ले घिउखोलाको ठेक्का कब्जा गरेर बलराम र गाउँलेलाई चुनौती दिन्छन्।
बुबाको सम्मान, आफ्नो मेहनत र स्वदेशमै केही गर्ने लक्ष्यका लागि बलरामले वरिष्ठसँग भिड्ने निर्णय गर्छन्। एकातिर बाबुको ट्याक्टरको ऋण तिर्ने जिम्मेवारी अनि अर्कोतिर वरिष्ठसँगको प्रतिस्पर्धामा होमिएका बलरामको जीत हुन्छ या हार ? फिल्मको मुख्य कथासार यही हो।
फिल्मले दुई सामाजिक सन्देशमा जोड दिएको छ। पहिलो, विदेश जान नचाहने, स्वदेशमै केही गर्न सक्ने युवालाई उत्प्रेरित गर्नु। दोस्रो, रगतको नाता भन्दा कर्मको नाता बढी महत्त्व राख्छ।
यस्ता सन्देशले फिल्मको कथालाई गहिरो र भावनात्मक बनाउने प्रयास भएको छ तर कमजोर पटकथा र सम्पादनका कारण निर्देशकको मिहेनत पूर्ण रूपमा दर्शकसम्म पुगेको छैन।
पात्रगत पक्षमा, विजय बराल बलरामको भूमिकामा बलियो देखिएका छन्। विजय फिल्ममा पारदर्शी र सङ्घर्षशील पात्रको रूपमा प्रस्तुत भएका छन्।
दयाहाङ राईले खलनायकको भूमिकामा फरक छवि प्रस्तुत गर्दै कथामा टकराब र तिखो धार थप्ने प्रयास गरेका छन्। माओत्से गुरुङले इन्द्रबहादुरको चरित्रमा आमाबुवाको संघर्ष र छोराप्रतिको माया देखाउन खोजेका छन्।
समृद्धि अर्यालको अभिनय आशा जगाउने भए पनि उनको चरित्र निर्माणको रेखा बाङगोटिङगो भएको छ। यो उनको भन्दा पनि लेखक र निर्देशकको मुख्य कमजोरी हो।
कमजोरी
स्क्रिनप्ले अनि सम्पादन यो फिल्मको सबैभन्दा ठूलो कमजोरी हो जसले पूर्ण फिल्मलाई नै कमजोर बनाएको छ। दोस्रोमा पात्रको चरित्र चित्रणमा समेत निर्माण टिम चुकेको छ।
विशेष गरेर दर्शकलाई धुरुधुरु रुवाउन सक्ने क्षमता देखाइसकेका अभिनेता विजय बरालको भावनात्मक संवाद यति फितलो छ कि दर्शक भावुक हुँदैनन्, के गर्या होला भनेर खित्का हान्न थाल्छन्। बलराम बनेका विजयको चरित्र एकनासको पनि छैन।
कथाको प्रवाहमा केही महत्त्वपूर्ण घटनाबीच निरन्तरता समेत हराएको छ। ट्याक्टर खोसिनु, बुबालाई जेलमा पठाउनु र घिउखोलाको ठेक्का कब्जा गर्ने घटनाहरू फिल्मको मुख्य पक्षहरू हुन्। तर यसमा दर्शक इन्गेज हुन सक्दैनन्।
फिल्मको स्क्रिनप्ले मध्यम स्तरको छ, घटनाहरू अनावश्यक रूपमा लम्ब्याउने प्रयास गर्दा कथा ढिलो र अनावश्यक भागहरू थपिएका छन्। दृश्यहरू आपसमा जोडिएका छैनन्, पात्रहरू छरिएका छन्।
छायाङ्कन ठिकै देखिए पनि कलर, सम्पादन र दृश्य प्रभाव कमजोर देखिन्छ। विजिएम पनि मध्यम मात्रै सुनिन्छ। फिल्म हेर्दा केही ठाउँमा बिजिएमको समस्या सहजै चाल पाउँछन् दर्शकले।
फिल्मलाई गीत र सङ्गीतले केही हदसम्म सघाएको छ। विशेषगरी ‘न्याउली बनैमा’ गीत दर्शकको मनमा बस्ने गीत बनेको छ। ‘मायाले रुवायो मलाई’ बोलको गीत भावनात्मक क्षणलाई समर्थन गर्छ भने ‘काम झ्याप झ्याप’ गीतले हल्का मनोरञ्जनात्मक स्वाद थपेको छ।
फिल्मको मुख्य बलियो पक्ष सामाजिक सन्देश, दयाहाङ र विजयको फरक अभिनय, गीत र कथाको आधारभूत सामाजिक मूल्य नै हुन्। तर यसले फिल्मलाई बलियो बनाउन सकेको छैन।
कमजोरी
कमजोर पटकथा, मध्यम स्क्रिनप्ले, कमजोर सम्पादन, र पात्र विकासको कमीले फिल्मलाई दर्शकसँग भावनात्मक सम्बन्ध बनाउन कठिन हुन्छ। पात्रको ल्यान्डिङ निकै कमजोर देखिन्छ। दर्शकलाई भावुक बनाउने राखिएका केही दृश्य असफल भएका छन्। फिल्म २ घण्टा ३१ मिनेट लामो छ। यसको लम्बाइ छोट्टाउन सकेको भए फिल्मको कथाको लय र प्रभाव धारिलो बन्न सक्थ्यो। बन्ने ठाउँहरू पनि देखिन्छ।
फिल्म २ घण्टा ३१ मिनेट लामो छ। यसको लम्बाइ छोट्टाउन सकेको भए फिल्मको कथाको लय र प्रभाव धारिलो बन्न सक्थ्यो। बन्ने ठाउँहरू पनि देखिन्छ। कथामा संघर्ष र सामाजिक सन्देश बलियो रूपमा उपस्थित हुन्छ तर कमजोर पटकथा र सम्पादनले फिल्मलाई बलियो हुनबाट रोकेको छ।
दयाहाङले लामो समयपछि फरक चरित्रमा अभिनय गरेका छन्। उनले पात्रको चरित्रलाई न्याय दिने प्रयास पनि गरेका छन्। तर निर्देशनका कमजोरीका फिल्मले उठाएको कथालाई न्याय दिन सकेन।
कात्तिक १३, २०८२ बिहीबार १८:३५:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।