३४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

३४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३४.२२ अंकले बढेको छ। यसअघि लगातार तीन कारोबार दिन बढेको नेप्से बुधवार भने सामान्य करेक्सन भएको थियो।

बुधबार २,५६६.१६ विन्दुमा झरेर रोकिएको नेप्से परिसूचक यसदिन २६००.३८ अंकमा उक्लेर रोकिएको हो। आज सेन्सेटिभ इन्डेक्स ५.४० अंकले बढेको छ भने फ्लोट इन्डेक्स २.३७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.९३ अंकले बढेको छ। यसदिन पसिूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ।

आज कुल ३१९ स्टकको ५३ हजार ११२ पट्कको कारोबार मार्फत ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार ४७३ रुपैयाँ बराबरको २ करोड ६० लाख १० हजार ७ सय १८ कित्ता शेयर कारोबार भएको छ।

यसअघि बुधवार ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड १५ लाख १ हजार कित्ता शेयर कारोबार भएको थियो।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन गुराँस लघुवित्त वित्तिय संस्था लिमिटेड र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
गुराँस लुवित्तको शेयर प्रतिकित्ता १० प्रतिशतले बढेर २३१० रुपैयाँमा अन्तिम कारोबार भएको छ भने उन्नती सहकार्य लघुवित्तको शेयर पनि मूल्य प्रतिकित्ता १० प्रतिशतले नै बढेर २००२.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सुपर माई हाईड्रो पावर, गणपति लघुवित्त र पिपुल्स हाईड्रोपावर कम्पनीकोे शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ।

आज एनआईबिएल सवल फण्डको इकाई मूल्य सर्वाधिक घटेको छ। यस म्यूचुअल फण्ड ५.७० प्रतिशतले घटेको हो भने सानिमा ग्रोथ फण्डको इकाईमूल्य ५.२४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा यस दिन हिमालयन बैंकको संस्थापक शेयर सर्वाधिक बढेको छ । सो कम्पनीको यस दिन एक अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

कारोबारमा आएका कुल १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने म्यूचुअल फण्ड समूहको परिसूचक घटेको छ। यस दिन हाईड्रोपावर उपसमूहको परिसूचक सर्वाधिक २.६७ प्रतिशत बढेको छ । विकास बैंक, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशत भन्दा बढीले बढेको हो।

कात्तिक १३, २०८२ बिहीबार १६:३२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।