सन् २०३० भित्र चन्द्रमामा मानव अवतरण गराउने चीनको तयारी

सन् २०३० भित्र चन्द्रमामा मानव अवतरण गराउने चीनको तयारी

बेइजिङ : चीनले सन् २०३० सम्ममा आफ्ना अन्तरिक्ष यात्रीलाई चन्द्रमाको सतहमा अवतरण गराउने लक्ष्यलाई तीव्र गतिमा अघि बढाइरहेको जनाएको छ। बिहीबार जारी वक्तव्यमा चाइना म्यान्ड स्पेस प्रोग्रामका प्रवक्ता झाङ जिङबोले उक्त परियोजना अहिले “पूर्ण रूपमा योजनाअनुसार अघि बढिरहेको” जानकारी दिए।

उनका अनुसार चन्द्रमामा मानव अवतरणका लागि आवश्यक प्राविधिक तयारी-जस्तै लङ मार्च-१० रकेट, अवतरण पोसाक र अन्वेषण सवारी निर्माणमा चीनले ‘महत्त्वपूर्ण उपलब्धि’ हासिल गरिसकेको छ। झाङले भने, “सन् २०३० भित्र चन्द्रमामा व्यक्ति पठाउने हाम्रो लक्ष्य स्पष्ट र अटल छ।”

यो घोषणासँगै चीनले आफ्नो तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा पठाइने नयाँ चालक दलको नाम पनि सार्वजनिक गरेको छ। नयाँ टोलीमा झाङ लु, वु फेइ र झाङ होङझाङ समावेश छन्। उनीहरू आगामी शुक्रबार राति ११ः४४ बजे जियुक्वान प्रक्षेपण केन्द्रबाट उडान भर्नेछन्।

झाङ लुले यसअघि सेन्झाउ–१५ मिसनमा सहभागिता जनाइसक्नुभएको छ भने वु फेइ र झाङ होङझाङका लागि यो पहिलो अन्तरिक्ष यात्रा हुनेछ। टोलीले तियाङ्गोङमा पुगेर करिब छ महिनासम्म सूक्ष्म गुरुत्वाकर्षण, जैविक अनुकूलन र प्रविधि परीक्षणसम्बन्धी अनुसन्धान गर्ने योजना बनाएको छ।

यो यात्रामा अन्तरिक्ष यात्रीहरूले दुई नर र दुई पोथी गरी चारवटा मुसा पनि लैजानेछन्। ती जनावरहरूमा भारहीनता र सीमित वातावरणको जैविक असरबारे अध्ययन गरिनेछ, जसले भविष्यका लामो दूरीका अन्तरिक्ष यात्राका लागि उपयोगी जानकारी दिने अपेक्षा गरिएको छ।

अमेरिकी प्रतिबन्धका कारण सन् २०११ देखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनबाट अलग भएको चीनले त्यसपछि आफ्नै तियाङ्गोङ, अर्थात् ‘हेभनली प्यालेस’, नामक अन्तरिक्ष स्टेसन निर्माण सुरु गरेको थियो। यो परियोजना पिपुल्स लिबरेसन आर्मीको प्राविधिक समन्वयमा सञ्चालन भइरहेको छ, जसले अमेरिकामा राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ता उत्पन्न गराएको छ।

हाल पूर्ण सञ्चालनमा रहेको तियाङ्गोङ स्टेसनलाई चीनले पृथ्वीको कक्षामा दीर्घकालीन वैज्ञानिक प्रयोगशाला बनाउने लक्ष्य लिएको छ। हरेक नयाँ टोलीले त्यहाँ अनुसन्धान र परीक्षणमार्फत चीनको अन्तरिक्ष क्षमतालाई अझ सुदृढ बनाउँदै आएको छ।

विश्लेषकहरूका अनुसार चीनको यो २०३० योजना अमेरिका र रूससँगको अन्तरिक्ष प्रतिस्पर्धामा निर्णायक मोड सावित हुन सक्छ। यदि योजना सफल भयो भने चीन चन्द्रमामा मानव अवतरण गराउने दोस्रो राष्ट्रका रूपमा दर्ज हुनेछ।

कात्तिक १३, २०८२ बिहीबार १४:३५:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।