तीन दशक लामो मौनता तोड्दै अमेरिका, ट्रम्पले दिए आणविक हतियार परीक्षण पुनः शुरू गर्न आदेश
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा मन्त्रालय (पेन्टागन)लाई करिब तीन दशकपछि आणविक हतियारको परीक्षण पुनः शुरू गर्न आदेश दिएका छन्।
उनले रुस र चीनको बराबरी गर्न यस्तो परीक्षण आवश्यक रहेको बताएका छन्, जसले विश्वमा नयाँ आणविक हतियारको होडबाजी शुरू हुनसक्ने चिन्ता बढाएको छ।
यो निर्णयसँगै अमेरिकाले सन् १९९२ देखि लगाएको आणविक परीक्षणको रोकलाई तोड्ने तयारी गरेको हो।
अमेरिकाले आफ्नो अन्तिम भूमिगत आणविक परीक्षण सन् १९९२ सेप्टेम्बर २३ मा नेभादामा गरेको थियो, जसपछि तत्कालीन राष्ट्रपति जर्ज एच. डब्लु. बुशले परीक्षणमा रोक लगाएका थिए।
ट्रम्पले आफ्नो निर्णयको बचाउ गर्दै भने, ‘रुस र चीन दुवैले परीक्षण गरिरहेका छन्। हामीले पनि गर्नुपर्छ।’
उनले अमेरिकामा सबैभन्दा बढी आणविक हतियार रहेको दाबी गरे पनि अन्तर्राष्ट्रिय तथ्याङ्कअनुसार रुससँग (५,५०० भन्दा बढी) अमेरिका (५,०४४) भन्दा धेरै आणविक हतियार छन्।
सन् १९९६ को ‘बृहत् आणविक परीक्षण प्रतिबन्ध सन्धि’ले भूमिगत परीक्षणमा रोक लगाएको छ। यद्यपि, अमेरिका र चीनले यस सन्धिमा हस्ताक्षर गरे पनि औपचारिक रूपमा अनुमोदन गरेका छैनन्।
विगतमा गरिएका यस्ता परीक्षणको असर भयानक रहेको छ। सन् २०१७ को एक अध्ययनअनुसार अमेरिकामा भएका आणविक परीक्षणबाट निस्किएको रेडिएसनका कारण करिब ६ लाख ९० हजार अमेरिकी नागरिकको मृत्यु भएको थियो।
विज्ञहरूले ट्रम्पको आदेश वास्तविक बम विस्फोटको परीक्षण हो वा होइन भन्नेमा स्पष्टता नभएको बताएका छन्। राष्ट्रपतिले आदेश दिए पनि परीक्षणको तयारी पूरा गर्न २ देखि ३ वर्ष लाग्ने अनुमान छ।
यो घोषणापछि चिनियाँ सामाजिक सञ्जालमा कतिपय प्रयोगकर्ताले अमेरिकाको निर्णयको खिल्ली उडाएका छन्। एक्काइसौं शताब्दीमा उत्तर कोरियाले मात्र आणविक परीक्षण गरेको छ।
कात्तिक १३, २०८२ बिहीबार १४:१७:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।