खुकुरी देखाएर लुटपाट गर्ने दुई जना पक्राउ, लागुऔषधसहित सामान बरामद

खुकुरी देखाएर लुटपाट गर्ने दुई जना पक्राउ, लागुऔषधसहित सामान बरामद

काठमाडौं : काठमाडौंको तारकेश्वरमा धारिलो हतियार (खुकुरी) देखाएर एक युवकको लुटपाटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई लुटपाट भएको केही समयभित्रै नियन्त्रणमा लिइएको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीका अनुसार, गएराति तारकेश्वर नगरपालिका-५, गोलढुंगास्थित फूलबारी गेट नजिक गोकर्णेश्वरका १९ वर्षीय श्रवण तामाङ आफ्नो मोटरसाइकल रोकेर बसिरहेका थिए।

सोही क्रममा अर्को मोटरसाइकलमा आएका दुई जनाले उनलाई खुकुरी देखाएर साथमा रहेको कालो झोला लुटेर फरार भएका थिए।

घटनाको जानकारी पाएलगत्तै प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले तत्कालै विभिन्न नाकामा जाँच सुरु गरेको थियो।

पीडितले दिएको हुलियाका आधारमा तिनपिप्लेस्थित अस्थायी प्रहरी पोष्टमा खटिएको प्रहरी टोलीले शंकास्पद मोटरसाइकललाई रोकेर जाँच गर्दा लुटपाटमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन सफल भएको हो।

पक्राउ पर्नेमा मकवानपुरका २६ वर्षीय सूर्यबहादुर घलान र सिन्धुलीका २३ वर्षीय मनोज चौधरी रहेका छन्। उनीहरूको साथबाट लुटिएको झोला, नगद तीन हजार रुपैयाँ, एक थान घडी, मोबाइल, खुकुरी र लुटपाटमा प्रयोग भएको बा ४२ प ४०६९ नम्बरको मोटरसाइकल बरामद गरिएको छ।

साथै, उनीहरूको साथबाट ३० ट्याब्लेट प्रतिबन्धित लागुऔषध ‘ट्रामाडोल’ समेत फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई प्रहरी वृत्त बालाजुमा राखेर थप सोधपुछ तथा अनुसन्धान भइरहेको प्रमुख कार्कीले जानकारी दिए।

कात्तिक १३, २०८२ बिहीबार १३:४६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।