अदालतको सूचीमा "फरार" हुँदा मन्त्री बन्न नपाएका खगेन्द्र आफैँ पुगे काभ्रे अदालत, बयान जारी

अदालतको सूचीमा

काभ्रेपलान्चोक : अदालतको अपहेलना र विद्ध्युतिय अपराधको मुद्दामा अदालतको फरार सूचीमा रहेका खगेन्द्र सुनार बिहीबार जिल्ला अदालत काभ्रेमा उपस्थित भए। अदालतको अपहेलन र विद्धुतिय कारोबारको अभियोग पत्र दर्ता भए पनि उनी अदालतमा उपस्थित भएका थिएनन्। अन्तरिम सरकारमा मन्त्री सिफारिस भएपछि उनी विरुद्ध विभिन्न अदालतमा विचाराधीन मुद्दाका विवरण सार्वजनिक भएका थिए।

सुनार फरार अभियुक्त रहेको खुलेपछि राष्ट्रपति कार्यालयमा मन्त्रीमा सिफारिस भएको पत्र पुगे पनि उनको शपथ भएन। त्यसपछि बल्ल उनी बिहीबार काभ्रे अदालतमा आफैँ उपस्थित भएका हुन्। उनी अदालतमा उपस्थित भएपछि न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा बयान भइरहेको छ। बयान सकिएपछि थुनछेकको बहस सुरु हुनेछ।

नवराज विक हत्या घटनाबारे उच्च अदालतले हत्या पुष्टि गर्दै जातीय विभेदको अभियोग अस्वीकार गरेपछि आक्रोशित भएका उनले अदालत परिसरमा तोडफोड गरेका थिए भने अधिवक्ता मनीषा गौतमविरुद्ध सामाजिक सञ्जालमा अपशब्द प्रयोग गर्दै फेसबुक स्टाटस लेखेका थिए। त्यसपछि गौतमले साइबर अपराधको उजुरी दिएकी थिइन्।

साइबर ब्युरोमा परेको गौतमको उजुरी उनको स्थायी ठेगाना अनुसार ब्युरोले जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक पठायो। प्रहरीले उनलाई फरारै कायम गरेर अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले पनि फरारै राखेर साउन २ गते अभियोग पत्र पेस गरेको थियो। अदालतले उनी विरुद्ध साउन ५ मै पक्राउ पुर्जी जारी गरे पनि उनी पक्राउ परेका थिएनन्।

अदालतमा हाजिर नभएर फरारै रहे पनि उनलाई प्रहरीले समेत खोजी गरेको थिएन। उनी खुल्ला भए पनि अदालतमा पेस नगरेकाले कानुनी रूपमा फरारै रहेको बेलामा अन्तरिम सरकारको सदस्यमा सिफारिस भए। अन्तमा यही कारण उनी मन्त्रीमा सिफारिस भए पनि शपथ लिन पाएनन्। त्यसपछि उनी आफैँ अदालतमा उपस्थित भए।

कात्तिक १३, २०८२ बिहीबार १२:४५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।