यात्रु तान्न व्यवसायीको होड : करोडौंका बसमा ‘स्लिपर’ सुविधा, जीर्ण सडकले सास्ती

यात्रु तान्न व्यवसायीको होड : करोडौंका बसमा ‘स्लिपर’ सुविधा, जीर्ण सडकले सास्ती

बुटवल : कुनै समय थियो, जब बुटवलबाट काठमाडौंसम्मको बस यात्रा निकै कष्टकर र दिक्कलाग्दो हुन्थ्यो। साँघुरा सिट, खुट्टा खुम्च्याएर बस्नुपर्ने बाध्यता, फोहोर गाडी र चालक-सहचालकको रुखो व्यवहारले यात्रुहरू आजित हुन्थे।

तर, समयसँगै यो परिस्थितिमा आमूल परिवर्तन आएको छ। यातायात क्षेत्रमा बढेको प्रतिस्पर्धाले व्यवसायीहरूलाई यात्रुमैत्री बन्न प्रेरित गरेको छ, जसले गर्दा घण्टौँको पट्यारलाग्दो यात्रा आजभोलि आरामदायी र रोमाञ्चक बन्न थालेको छ।

अहिले लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट काठमाडौं चल्ने सार्वजनिक बसहरूमा सुविधा थप्ने होडबाजी नै चलेको छ।

जाडोमा हिटर र न्यानो कम्बल, गर्मीमा चिसो एसी र आरामदायी सिटले यात्रुको मन जितिरहेको छ। यसको प्रत्यक्ष फाइदा यात्रुहरूले पाएका छन्। विशेषगरी रात्रिकालीन यात्राका लागि सुविधासम्पन्न बसहरू यात्रुको पहिलो रोजाइ बनेका छन्।

पछिल्लो समय व्यवसायीहरूले भित्र्याएका नयाँ बसहरूमा दुईदेखि चारवटासम्म ‘स्लिपर सिट’ (सुतेर यात्रा गर्न मिल्ने सिट) राख्न थालेका छन्, जसले यात्रुहरूलाई झनै आकर्षित गरेको छ। विशेषगरी बिरामी, अशक्त, वृद्धवृद्धा र लामो यात्रामा आराम चाहनेहरूका लागि यो सुविधा बरदान सावित भएको छ।

‘अहिले यात्रुले आफूले चाहेजस्तो डिलक्स, एसी, सुपर डिलक्स र स्लिपर सिटमा समेत आरामदायी यात्रा गर्न पाएका छन्’, पश्चिम नेपाल बस व्यवसायी प्रा.लिका अध्यक्ष दधिराम खरेलले भने।

नेपालको कानुनले बसमा सुतेर यात्रा गर्न मिल्ने ‘स्लिपर सिट’ राख्न अनुमति दिएको छैन। तर, व्यवसायीहरूले यसलाई ‘यात्रुको माग र आवश्यकता’ भन्दै जडान गरिरहेका छन्।

दाङको त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालि मातहत चल्ने ४० वटा बसमा यस्ता सिटहरू छन्। प्रालिका अध्यक्ष सुरेश हमाल भन्छन्, ‘यो यात्रुको माग मात्र होइन, आवश्यकता पनि हो। कम खर्चमा बिरामीलाई सजिलैसँग काठमाडौं लैजान सकिन्छ।’

व्यवसायीहरूले यी सिटको पनि अन्य सिटसरह यात्रु बीमा गरिएको बताएका छन्। सामान्य सोफा सिटभन्दा स्लिपर सिटमा यात्रा गर्दा यात्रुले १०० देखि २०० रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ।

दाङ-काठमाडौंको सामान्य भाडा १ हजार ८५० रुपैयाँ हुँदा स्लिपर सिटको दुई हजार रुपैयाँ पर्ने हमालले जानकारी दिए। स्लिपर सिटमा यात्रा गर्ने यात्रुले कम्बल, सिरानी, व्यक्तिगत सानो टिभी र एसीको सुविधा पाउँछन्।

एकातिर करोडौं लगानी गरेर यात्रुलाई सुविधा दिने होडबाजी छ भने अर्कोतिर पूर्वाधारको दुरवस्थाले व्यवसायीहरू निराश छन्। विशेषगरी नारायणगढ-बुटवल सडक खण्ड समयमै निर्माण नहुँदा करोडौँ पर्ने नयाँ सवारी साधनको आयु घट्दै गएको उनीहरूको गुनासो छ।

‘हामीले करोड खर्चेर गाडी सडकमा कुदाएका छौँ, तर राज्यले व्यवसायीको मर्का बुझेन। समयमै सडक नबन्दा यात्रुले मात्र होइन, हामी व्यवसायी पनि प्रताडित भएका छौँ’, अध्यक्ष हमालले भने।

अहिले सडकमा गुड्ने युरो-४ मापदण्डका बसको मूल्य ९० लाखदेखि १ करोड १० लाखसम्म पर्छ। सरकारले अब युरो-६ मापदण्डका गाडी भित्र्याउने तयारी गरिरहेको छ, जसको मूल्य १ करोड ३० लाखभन्दा बढी पर्ने व्यवसायी बताउँछन्।

‘राज्य युरो-६ चलाउने कुरा गर्छ, तर बाटोको अवस्थामा ध्यान दिँदैन। हामीले सरकारलाई कति पटक भन्ने?’, पश्चिम नेपाल बस व्यवसायी प्रा.लिका अध्यक्ष खरेलले आक्रोश पोखे।

उनका अनुसार खराब सडकका कारण गाडी समयमा गन्तव्यमा नपुग्ने, टायर छिटो फेर्नुपर्ने, इन्जिन चाँडै बिग्रने र सिटहरू भाँचिने जस्ता समस्याले व्यवसायीलाई ठूलो आर्थिक भार थपिएको छ।

कात्तिक १३, २०८२ बिहीबार १२:४४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।