हवाई उडान प्रभावित : अन्तर्राष्ट्रिय विमान दिल्ली र लखनऊ डाइभर्ट, आन्तरिक उडान पनि प्रभावित

हवाई उडान प्रभावित : अन्तर्राष्ट्रिय विमान दिल्ली र लखनऊ डाइभर्ट, आन्तरिक उडान पनि प्रभावित

काठमाडौं : बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको प्रभावले नेपालको मौसम प्रतिकूल बन्दा मुलुकभरको हवाई उडान सेवा प्रभावित भएको छ।

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फका उडानहरू प्रभावित भएका हुन्, जसमध्ये केहीलाई अन्यत्रै डाइभर्ट गरिएको छ भने कतिपय विमानस्थल नै बन्द भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार मौसममा आएको खराबीले अन्तर्राष्ट्रियतर्फका तीनवटा विमान काठमाडौं अवतरण हुन नसकी भारतका विभिन्न सहरमा डाइभर्ट भएका छन्।

नेपाल एयरलाइन्स र इण्डिगो एयरका विमानलाई भारतको नयाँदिल्ली तथा एयर इण्डियाको विमानलाई लखनऊ डाइभर्ट गरिएको छ।

आन्तरिक उडानतर्फ पनि असर गम्भीर देखिएको छ। भरतपुर र तुम्लिङटार विमानस्थल पूर्ण रूपमा बन्द भएका छन् भने पोखरा विमानस्थलमा आगमन बन्द गरी प्रस्थानका लागि मात्र खुला राखिएको छ।

विराटनगर र भैरहवाबाट काठमाडौंका लागि उडेका श्री एयरलाइन्सका विमानहरू खराब मौसमका कारण पुनः उडेकै विमानस्थलमा फर्किएका थिए। विमानस्थल कार्यालयका अनुसार काठमाडौंको मौसम केही खुला भए पनि उडान मार्गको मौसम (इनरुट वेदर) खराब भएकाले विशेषगरी आन्तरिक उडानमा समस्या देखिएको हो।

जल तथा मौसम विज्ञान विभागले ‘मोन्था’ चक्रवात कमजोर भई न्यून चापीय क्षेत्रका रूपमा नेपालको मध्य भू-भागमा आइपुगेको जनाएको छ।

यस प्रणालीको प्रभावले कात्तिक १५ गतेसम्म बाग्मती, मधेश र कोशी प्रदेशको मौसम प्रभावित हुनेछ। यी प्रदेशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ।

कात्तिक १३, २०८२ बिहीबार १२:०२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।