गृहमन्त्री हटाउन बालेनले दबाब भन्ने हल्ला निराधार : प्रधानमन्त्रीको सचिवालय

गृहमन्त्री हटाउन बालेनले दबाब भन्ने हल्ला निराधार : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सचिवालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त हल्ला पूर्णतः निराधार र भ्रमपूर्ण रहेको स्पष्ट पारेको छ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा कुनै पनि मन्त्रीलाई नियुक्त गर्ने वा हटाउने विषय विशुद्ध प्रधानमन्त्रीको अधिकार क्षेत्रभित्रको कुरा भएको उल्लेख छ।

‘कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्माननीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रको विषय हो। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन’, विज्ञप्तिमा भनिएको छ।

सचिवालयले जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुसार गठन भएको वर्तमान सरकारले असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हालेको स्मरण गराएको छ।

साथै, गृहमन्त्री अर्यालले आगामी निर्वाचन सम्पन्न गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहेको भन्दै उनको कामको प्रशंसासमेत गरेको छ।

देशको वर्तमान संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै यस्ता अफवाह नफैलाउन र त्यस्ता हल्लाको पछि नलाग्नसमेत सचिवालयले सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ।

कात्तिक १३, २०८२ बिहीबार ११:०४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।