बेमौसमी वर्षाले दाउन्नेमा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध, सयौँ सवारी साधन अलपत्र

बेमौसमी वर्षाले दाउन्नेमा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध, सयौँ सवारी साधन अलपत्र
फाइल तस्बिर

नवलपुर : आज बिहानदेखि परेको बेमौसमी वर्षाका कारण पूर्व-पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट-बुटवल सडक खण्डको दाउन्नेमा यातायात अवरुद्ध भएको छ।

सडक हिलाम्मे र चिप्लो हुँदा सवारीसाधन चल्न नसकेपछि सयौँ यात्रु र सवारी साधनहरू बीच बाटोमै अलपत्र परेका छन्।

जिल्ला प्रहरी कार्यालय, नवलपुरका सूचना अधिकारी मधु नेपालका अनुसार दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोला क्षेत्रमा सडक अवरुद्ध भएको हो।

मर्मतका कारण पहिलेदेखि नै एकतर्फी सञ्चालनमा रहेको उक्त सडकमा वर्षाले थप समस्या निम्त्याएको हो।

विशेषगरी उकालो सडक हिलो र चिप्लो भएपछि मालवाहक सवारीसाधनहरू चढ्न नसकेर रोकिएका छन्, जसले गर्दा सवारीको लामो जाम लागेको छ।

सूचना अधिकारी नेपालले भने, ‘पश्चिमतर्फ जाने सवारीसाधन उकालो चढ्न नसकेपछि जाम हुन नदिन र सडक खुलाउने प्रयास गर्न प्रहरी टोली घटनास्थलमा खटिएको छ।’

सडक अवरुद्ध हुँदा नारायणघाटबाट बुटवलतर्फ जाने र बुटवलबाट नारायणघाटतर्फ आउने सवारी साधनहरू दाउन्नेको दुवैतर्फ रोकिएका छन्, जसले गर्दा यात्रुहरूले सास्ती व्यहोर्नु परेको छ।

कात्तिक १३, २०८२ बिहीबार १०:५०:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।