सिक्किमका मुख्यमन्त्री दुई नेपाली खेलाडी खोज्दै भने- ‘दुई जना आएनछन् नि! अर्कोपालि आउनुपर्छ है!’

सिक्किमका मुख्यमन्त्री दुई नेपाली खेलाडी खोज्दै भने- ‘दुई जना आएनछन् नि! अर्कोपालि आउनुपर्छ है!’

काठमाडौं : ‘दुई जना आएनछन् नि! अर्कोपालि आउनुपर्छ है!’

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई शुभकामना दिँदै गर्दा व्यक्त गरेको यो भनाइ अहिले नेपाली खेलवृत्तमा चर्चाको विषय बनेको छ। उनको यो सामान्य तर अर्थपूर्ण वाक्यले उनी नेपाली महिला फुटबलका नियमित र जानकार समर्थक रहेको प्रस्ट पारेको छ।

सिक्किम राज्य स्थापनाको ५०औं वर्षगाँठको अवसरमा बुधबार पाल्जोर रंगशालामा नेपाल र भारतको महिला टोलीबीच मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो। सोही खेलअघि खेलाडीहरूको हौसला बढाउन पुगेका मुख्यमन्त्री तामाङको नजरले नेपाली टोलीका दुई परिचित अनुहार खोजिरहेको थियो।

वास्तवमा व्यावसायिक प्रतिबद्धताका कारण नेपालका तीन प्रमुख खेलाडी- कप्तान सावित्रा भण्डारी ‘साम्बा’, मिडफिल्डर प्रीति राई र गोलकिपर एन्जिला तुम्बापो सुब्बा टोलीसँग थिएनन्।

तर, मुख्यमन्त्री तामाङले विशेष गरी दुई खेलाडीलाई ‘मिस’ गरेको बताउनुले उनी टोलीका खेलाडीहरूको भूमिका र क्षमतासँग कति जानकार छन् भन्ने देखाउँछ। उनले नामै नलिए पनि सामाजिक सञ्जालमा धेरैले ती दुई खेलाडी सावित्रा र प्रीति, प्रीति र एन्जिला वा सावित्रा र एन्जिला हुनसक्ने अनुमान लगाएका छन्।

सावित्रा व्यावसायिक फुटबलका लागि न्युजिल्यान्ड, एन्जिला भारतीय क्लब सेथु एफसी र प्रीति जोर्डन जाने तयारीमा रहेकाले यो मैत्रीपूर्ण खेल गुमाएका थिए।

मुख्यमन्त्री तामाङले खेलअघि दुवै टोलीसँग रात्रिभोजमा पनि सहभागी भई खेलाडीहरूप्रति देखाएको सम्मान र आत्मीयताको नेपालमा प्रशंसा भइरहेको छ।

उक्त मैत्रीपूर्ण खेलमा निर्धारित समय १-१ को बराबरीमा सकिएपछि नेपालले टाइब्रेकरमा भारतलाई ३-० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको थियो। तर, खेलको नतिजाभन्दा पनि मुख्यमन्त्री तामाङको खेलाडीप्रतिको लगाव र सम्मानले धेरैको मन जितेको छ।

कात्तिक १३, २०८२ बिहीबार १०:१२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।