विश्वकप लिग-२ मा आज नेपाल र युएई भिड्दै
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आईसीसी विश्वकप लिग-२ अन्तर्गत आफ्नो महत्त्वपूर्ण खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ।
यो खेल दुबईको आईसीसी एकेडेमी मैदानमा नेपाली समय अनुसार बिहान ११:१५ बजे शुरू हुनेछ।
लिग-२ को अंक तालिकामा नेपाल सातौं स्थानमा रहेको छ भने युएई आठौं स्थानमा छ। नेपालले १७ खेलबाट ५ जितसहित १२ अंक जोडेको छ। युएईले पनि १७ खेल खेलेकोमा ३ खेलमा मात्र जित निकालेर ६ अंकमा सीमित छ।
पछिल्लो तथ्याङ्क हेर्दा नेपाल युएईविरुद्ध पूर्ण रूपमा हाबी देखिन्छ। दुई टोलीबीच भएका पछिल्ला पाँचवटै एकदिवसीय खेलमा नेपालले जित हात पारेको छ। यो तथ्याङ्कले आजको खेलमा नेपाली टोलीलाई उच्च मनोबलका साथ मैदान उत्रिन मद्दत पुग्नेछ।
त्यस्तै, पछिल्ला खेलहरूको प्रदर्शनका आधारमा पनि नेपाल बलियो अवस्थामा छ। नेपालले खेलेका पछिल्ला पाँच खेलमध्ये तीनमा जित निकालेको छ भने युएईले एक खेलमा मात्र जित हासिल गरेको छ।
आजको खेलमा जित निकाल्दै अंक तालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रिनेछ। अर्कोतर्फ, घरेलु मैदानमा नेपालविरुद्धको हारको शृङ्खला तोड्ने दबाबमा युएई हुनेछ।
कात्तिक १३, २०८२ बिहीबार ०८:३६:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।