वलवार्टको सानदार शतकमा दक्षिण अफ्रिका महिला विश्वकपको फाइनलमा, इंग्ल्यान्ड १२५ रनले पराजित

वलवार्टको सानदार शतकमा दक्षिण अफ्रिका महिला विश्वकपको फाइनलमा, इंग्ल्यान्ड १२५ रनले पराजित

एजेन्सी : कप्तान लौरा वलवार्टको अविस्मरणीय शतक र मारिजेन केपको घातक बलिङको मद्दतले दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई १२५ रनको फराकिलो अन्तरले पराजित गर्दै आईसीसी महिला विश्वकप २०२५ को फाइनलमा स्थान सुरक्षित गरेको छ।

गुवाहाटीमा सम्पन्न पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३२० रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९४ रनमा अलआउट भयो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३१९ रनको विशाल योगफल तयार पारेको थियो।

टोलीका लागि कप्तान लौरा वलवार्टले उत्कृष्ट प्रदर्शन गर्दै १४३ बलमा २० चौका र ४ छक्कासहित १६९ रनको सानदार शतकीय पारी खेलिन्। उनलाई ताज्मीन ब्रिट्सले ४५ रन बनाउँदै राम्रो साथ दिएकी थिइन्।

दक्षिण अफ्रिकाकी कप्तान लौरा वलवार्ट

मध्यक्रममा मारिजेन केपले ३३ बलमा ४२ रन र क्लो ट्रायोनले २६ बलमा अविजित ३३ रनको विस्फोटक पारी खेल्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए। इंग्ल्यान्डका लागि सोफी एक्लेस्टोनले किफायती बलिङ गर्दै सर्वाधिक ४ विकेट लिए पनि अन्य बलर महँगो साबित भए।

३२० रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्डको सुरुवात भने निकै निराशाजनक रह्यो। मात्र १ रनको स्कोरमा ३ महत्त्वपूर्ण विकेट गुमाएर इंग्ल्यान्ड संकटमा परेको थियो। मारिजेन केपले इंग्ल्यान्डको शीर्ष क्रमलाई ध्वस्त पारेकी थिइन्।

त्यसपछि नेट सिभर-ब्रन्ट र एलिस क्याप्सीले चौथो विकेटका लागि १०७ रनको साझेदारी गर्दै इंग्ल्यान्डको पारी सम्हाल्ने प्रयास गरेका थिए। सिभर-ब्रन्टले ६४ तथा क्याप्सीले ५० रन बनाए। तर उनीहरु आउट भएपछि इंग्ल्यान्डको पारी पुनः धर्मरायो र अन्ततः ४२.३ ओभरमा १९४ रनमा समेटियो।

दक्षिण अफ्रिकाका लागि मारिजेन केपले घातक बलिङ गर्दै ७ ओभरमा मात्र २० रन खर्चेर ५ महत्त्वपूर्ण विकेट लिइन्। उनलाई नादिन डी क्लर्कले २ विकेट लिएर साथ दिइन्।

खेलमा उत्कृष्ट शतकीय पारी खेलेकी दक्षिण अफ्रिकी कप्तान लौरा वलवार्ट 'प्लेयर अफ द म्याच' घोषित भइन्। यो जितसँगै दक्षिण अफ्रिकाले उपाधिका लागि फाइनल यात्रा तय गरेको छ भने इंग्ल्यान्डको विश्वकप यात्रा समाप्त भएको छ।

फाइनलमा दक्षिण अफ्रिकाले भारत र अष्ट्रेलियाबीचको विजेतासँग भिड्नेछ।

कात्तिक १३, २०८२ बिहीबार ०८:२४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।