बाढी पूर्वानुमान महाशाखाले निकाल्यो विशेष बुलेटिन, यी जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम

बाढी पूर्वानुमान महाशाखाले निकाल्यो विशेष बुलेटिन, यी जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका पूर्वी तथा मध्य क्षेत्रका नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने चेतावनी दिएको छ।

बंगालको खाडीमा विकसित भएको ‘मिचोङ’ नामक चक्रवातको प्रभावका कारण कोशी, मधेस र बागमती प्रदेशका अधिकांश नदीहरूमा बाढीको जोखिम बढेकोले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाले आज (कार्तिक १३ गते) विशेष बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै कोशी, मधेस र बागमती प्रदेशका अधिकांश नदीहरूको बहाव आजबाटै बढ्दो क्रममा रहने जनाएको छ। पूर्वानुमान अनुसार कार्तिक १४ र १५ गते यी नदीहरूको जलस्तर बढेर सतर्कता तह आसपास पुग्ने सम्भावना छ।

‘कोशी, मधेश र बागमती प्रदेशका अधिकांश नदीहरुको बहाव कार्तिक १३ गते बढ्दो क्रममा रहने तथा १४ र १५ गते सतर्कता तह आसपास पुग्ने पूर्वानुमान रहेकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनुहुन अनुरोध छ’, महाशाखाद्वारा जारी सूचनामा भनिएको छ।

महाशाखाले आकस्मिक बाढीको जोखिम देखाउँदै नक्सा पनि सार्वजनिक गरेको छ। जसअनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगादेखि लिएर झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन लगायतका जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ।

महाशाखाको ३ दिने पूर्वानुमान अनुसार कोशी बेसिनका तमोर, अरुण, दूधकोशी, सुनकोशी, तामाकोशी लगायतका नदीहरूमा कार्तिक १४ र १५ गते पानीको बहाव ‘उल्लेख्य बढ्ने’ छ। त्यसैगरी नारायणी बेसिनका त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दीमा पनि बहाव बढ्ने पूर्वानुमान गरिएको छ।

तुलनात्मक रूपमा कर्णाली, महाकाली, बबई र पश्चिम राप्तीका नदीहरूमा भने बहाव सामान्य घटबढ हुने सूचनामा उल्लेख छ। महाशाखाले आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, सिन्धुली, रामेछाप, मकवानपुर, चितवन, नवलपरासी (पूर्व र पश्चिम) लगायतका जिल्ला भई बहने साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको बताएको छ।

भोलि  कोशी र बागमती प्रदेश भई बहने केही साना नदीहरूमा आकस्मिक बहाव बढ्न सक्ने र पर्सी कार्तिक १५ गते कोशी, मधेश र बागमती प्रदेश भई बहने केही साना नदीहरूमा बहाव बढ्ने क्रम जारी रहने उल्लेख गरेको छ।

महाशाखाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई नदी किनारमा जाँदा विशेष सावधानी अपनाउन, जल तथा मौसमको अवस्थाबारे निरन्तर जानकारी लिन र सरकारी निकायबाट जारी हुने सूचनाहरूमा ध्यान दिन अनुरोध गरेको छ।

कात्तिक १३, २०८२ बिहीबार ०८:१२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।