भारी वर्षा र हिमपातको चेतावनीपछि सरकारले भन्यो- अत्यावश्यक काम बाहेक यात्रा नगर्नू
काठमाडौं : जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार बिहीबारदेखि देशका विभिन्न भागमा भारी वर्षा र हिमपातको सम्भावना देखिएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।
प्राधिकरणले बुधबार एक विशेष सूचना जारी गर्दै २०८२ कात्तिक १२ गते बिहीबार बिहानदेखि १४ गते शुक्रबार बिहानसम्म कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ।
यसैगरी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ।
विभागले बिहीबार कोशी, मधेश र बागमती प्रदेशका सबै जिल्लाहरू तथा गण्डकी प्रदेशको गोरखा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), मनाङ र मुस्ताङ अनि लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु र दाङका स्थानीयलाई सतर्क रहने भनेको छ।
प्राधिकरणद्वारा जारी गरिएका विशेष सतर्कताहरू:
सम्भावित वर्षा र हिमपातले सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रमा प्रभाव पार्न सक्ने भन्दै प्राधिकरणले अत्यावश्यक काम बाहेक यात्रा नगर्न आग्रह गरेको छ।
बाढी र डुबानको जोखिममा रहेका बस्तीहरूलाई अग्लो र सुरक्षित स्थानमा जान तथा अरूलाई पनि जानकारी दिन भनिएको छ भने नदी किनारका बासिन्दालाई थप सतर्क रहन सुझाइएको छ।
प्राधिकरणले किसानलाई धान तथा अन्य बाली नकाट्न र काटिसकेको भए तत्काल सुरक्षित स्थानमा भित्र्याउन आग्रह गरेको छ भने जिल्ला र स्थानीय विपद् व्यवस्थापन समिति, तीनवटै सुरक्षा निकाय, स्वयंसेवक तथा सरोकारवालाहरूलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
यसका अलावा प्रभावित हुन सक्ने जिल्लाका विपद् व्यवस्थापन समिति र सुरक्षा समितिले आवश्यकता अनुसार सवारी आवतजावतबारे निर्णय गर्ने भएकाले सोको पालना गर्न आग्रह गरिएको छ।

कात्तिक १३, २०८२ बिहीबार ०७:२९:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।