त्रिपक्षीय छलफलमा जेन–जीले भने : निर्वाचनसँगै भ्रष्टाचार नियन्त्रणमा पनि सरकार अगाडि बढ्नु पर्यो
काठमाडौं : सरकार र राजनीतिक दलहरूसँग वार्ताका लागि पुगेका जेन–जी प्रतिनिधिहरूले आफ्नो आन्दोलनको मुख्य उद्देश्य सुशासन स्थापना र भ्रष्टाचारविरुद्धको प्रभावकारी कारबाही रहेको बताउँदै सरकारको ध्यानाकर्षण गराए।
बुधवार प्रधानमन्त्री सुशीला कार्कीको सरकारी निवास बालुवाटारमा भएको त्रिपक्षीय वार्तामा सहभागी जेन–जी प्रतिनिधिहरूले आफूहरूलाई चुनाव चाहिएको भए पनि चुनाव मात्रै समाधान नभएको बताए।
प्रधानमन्त्रीको सचिवालयका सदस्यका अनुसार जेन–जी प्रतिनिधिहरूले छलफलमा चुनाव आवश्यक रहेको तर जेन-जी आन्दोलनको माग चुनाव मात्र नभएर सुशासन समेत रहेको बताउँदै सरकार निर्वाचनसँगै सुशासन र भ्रष्टाचार नियन्त्रणमा पनि सँगै अगाडि बढ्नुपर्ने बताएका थिए।
प्रधानमन्त्री कार्कीले वार्ताको सुरुवातमा सबै पक्षलाई खुला संवाद र विचार आदानप्रदानमा जोड दिँदै निरन्तर छलफल आवश्यक रहेको बताएकी थिइन्।
उनले मुलुक सबैको भएकाले समस्या समाधान गर्न एक पटक मात्र संवादमा बसेर नहुने र पटक पटक संवाद गर्नु पर्ने भन्दै त्यसको सुरुवात सरकारले गरेको बताएकी थिइन्।
जेनजीका प्रतिनिधीहरुले आफ्नो धारणा राखेपछि दलका प्रतिनिधीहरुले आफ्नो धारणा राखिरहेका छन्।
कात्तिक १२, २०८२ बुधबार १९:३३:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।