चौधरी समूहले भारतको लोकप्रिय ब्रान्ड बिकाजी नेपाल भित्र्यायो, ५० करोडमा बन्ने नेपाल प्लान्टको शिलान्यास
काठमाडौं : नवलपरासीस्थित सिजी इन्डस्ट्रियल पार्कमा बिकाजी स्न्याक्स फ्याक्ट्रीको शिलान्यास भएको छ। चौधरी ग्रुपको एफएमसीजी कम्पनी सिजी फुड्सले भारतको प्रख्यात स्न्याक्स ब्रान्ड बिकाजी फुड्स इन्टरनेशनलसँगको सहकार्यमा फ्याक्ट्रीको शिलान्यास गरेको हो।
बुधवार आयोजित भूमि पूजन समारोहमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी र कम्पनीका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा प्लान्टको शिलान्यास गरेका थिए। समारोहमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको पनि उपस्थित थिए।
हालैको जेन जी आन्दोलनका क्रममा चौधरी ग्रुपका व्यावसायिक प्रतिष्ठानहरूमाथि आगजनी एवं तोडफोड भएको थियो। सिजी इलेक्ट्रोनिक्सको मुख्य केन्द्रमाथि आगजनी गरेर ध्वस्त बनाइनुका साथै ग्रुपका अध्यक्ष विनोद चौधरीको निजी निवासमा पनि आगजनी गरिएको थियो। उक्त घटनापछि ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले यस्ता घटनाका बाबजुद सीजीको नेपालप्रतिको प्रतिबद्धतामा कमी नआउने बताएका थिए।
उक्त घटनाको करिब डेढ महिनापछि चौधरी ग्रुपले नेपालमा बहुराष्ट्रिय कम्पनीलाई भित्र्याएको हो।
बिकाजीसँगको साझेदारीमा निर्माण हुन लागेको यो फ्याक्ट्रीमार्फत भुजिया, नमकिन लगायत बिकाजीका अन्य लोकप्रिय स्न्याक्सहरुको उत्पादन गरिने कम्पनीले जानकारी दिएको छ।
बिकाजीको नेपाल प्लान्टमा पहिलो चरणमा करिब ५० करोड रुपैयाँ लगानी हुने र करिब चार सयले रोजगारी पाउने कम्पनीले जानकारी दिएको छ।
कात्तिक १२, २०८२ बुधबार १९:०७:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।