प्रहरीबाट लुटेको पेस्तोल पड्काउँदै भिडियो बनाउँदा समातिए दुई युवा

प्रहरीबाट लुटेको पेस्तोल पड्काउँदै भिडियो बनाउँदा समातिए दुई युवा

काठमाडौं । जेनजी आन्दोलनको दोस्रो दिन प्रहरीको पेस्तोल र गोलीहरू लुटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले नुवाकोटको लिखु गाउँपालिका–६ घर भएका २३ वर्षीय समीर श्रेष्ठ र काभ्रेको पनौती नगरपालिका–१० का २३ वर्षीय एलेक्स नेपालीलाई बुधवार पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट प्रहरीबाट लुटेको पेस्तोल, म्याग्जिन र १२ राउन्ड गोली समेत फेला परेको जानकारी दिएको छ। एक घरको छतमा बसेर पेस्तोल पड्काइरहेको भिडियो बनाएको आधारमा प्रहरीले खोजी सुरु गरेको थियो। खोज्नेक्रममा ती व्यक्ति समीर रहेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। समीरको जानकारीको आधारमा एलेक्स समेत पक्राउ परे। प्रहरीले दुबैलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइको छ। 

खोजी र पक्राउको गति बढ्यो

प्रारम्भमा गृहमन्त्री ओमप्रकाश अर्याल अनि सुधन गुरुङ समूहको दबाबका कारण भदौ २४ मा आपराधिक गतिविधिमा संलग्नहरूको खोजी र पक्राउको गति रोकिए पनि अहिले पनि प्रहरीले खोजी र पक्राउको क्रमको गति बढाएको छ। बुधवार मात्र काठमाडौँसँगै कास्कीमा कार्यालय तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा १० जना पक्राउ परेका छन्।

मंगलबार प्रहरीले वडा कार्यालय जलाउनेदेखि प्रहरीको हतियार लुट्न संलग्नसम्मलाई पक्राउ गरेको थियो। जेन-जी आन्दोलनको आवरणमा बैंक लुट्नेदेखि लिएर प्रहरी हत्यामा संलग्न देखिएकाहरूसम्म पक्राउ परिरहेका छन्।

 

कात्तिक १२, २०८२ बुधबार १७:४०:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।