बालुवाटारमा सुरु भयो जेन-जी र दलसहितको त्रिपक्षीय वार्ता, जेन-जीमा छैनन् दलित प्रतिनिधि

बालुवाटारमा सुरु भयो जेन-जी र दलसहितको त्रिपक्षीय वार्ता, जेन-जीमा छैनन् दलित प्रतिनिधि
तस्बिर : रासस

काठमाडौं : सरकारको प्रयासमा राजनीतिक दल र जेनजी पुस्ताका प्रतिनिधासहित त्रिपक्षीय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री र मन्त्रीहरूसहित विभिन्न दलका नेता र जेन-जी पुस्ताका प्रतिनिधीहरुबीच बैठक सुरु भएको हो।  

यसअघि सरकार र जेन-जी पुस्ताका प्रतिनिधि अनि सरकार र दलका नेताहरुबीच बैठक भएको थियो। राष्ट्रपतिको संयोजनमा दुवै पक्षका प्रतिनिधिसँग अलग अलग छलफल भएकोमा सरकारले आफूसहित तीनै पक्षलाई एकै ठाउँमा राखेर आगामी निर्वाचनबारे संयुक्त छलफलका लागि बुधवार बैठक राखेको हो।

बैठकमा सरकारको तर्फबाट प्रधानमन्त्री कार्की र मन्त्रीहरूसहित नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलका प्रतिनिधिहरू संलग्न छन्। जेन-जी पुस्ताकोतर्फबाट मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, सागर ढकाल, मिरज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र रिजन रानामगर सहभागी छन्। जेन-जी प्रतिनिधिमा दलित समुदायको उपस्थिति भने देखिएन।

दलको तर्फबाट कांग्रेसबाट प्रकाशशरण महत, एमालेबाट महेश वर्तौला, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र माधव सापकोटा, रास्वपाबाट स्वर्णिम वाग्लेसहित सहभागी छन्। यसैगरि एकिकृत समाजवादीबाट राजेन्द्र पाण्डे, राप्रपाबाट मोहन श्रेष्ठसहित दलका १५ जना प्रतिनिधी बैठकमा सहभागी छन्।

कात्तिक १२, २०८२ बुधबार १७:१८:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।