राष्ट्रियसभाका १८ सांसदका लागि माघ ११ मा निर्वाचन, नारायणकाजीदेखि बामदेवसमेत हुँदैछन् पूर्व

राष्ट्रियसभाका १८ सांसदका लागि माघ ११ मा निर्वाचन, नारायणकाजीदेखि बामदेवसमेत हुँदैछन् पूर्व

काठमाडौं : सरकारले फागुनमा रिक्त हुने राष्ट्रिय सभाका १८ सदस्यको लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ। यस अगाडि नै सरकारले माघमा निर्वाचन गर्ने निर्णय गरे पनि मिति भने तोकेको थिएन।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। फागुनमा २०७६ को निर्वाचनबाट निर्वाचित १८ जना र राष्ट्रपतिबाट मनोनीत एक जना गरेर १९ पद रिक्त हुँदैछ। १९ मध्ये वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन्। उनीहरूको पदावधि फागुन २० मा सकिँदै छ। उनी बाहेकको पदका लागि सरकारले निर्वाचनको मिति तोकेको हो।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनमा पद रिक्त हुनु भन्दा ३५ दिन अगाडि नै निर्वाचन हुनुपर्ने बाध्यकारी व्यवस्था रहेकाले सरकारले छ । पदावधि सकिनु ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान अनुसार सरकारले मिति तोकेको हो।

प्रतिनिधि सभा विघटन भए पनि त्यसले राष्ट्रिय सभाको निर्वाचनमा प्रभाव पर्दैन। राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्।

फागुन २० मा एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ सांसदको पदावधि सकिँदै छ।

कात्तिक १२, २०८२ बुधबार १६:५६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।