सेनाको हेलिकप्टरमा भागेकी शेख हसिनाको चेतावनी- ‘अवामी लिग बिनाको चुनावले देशमा विभाजन ल्याउँछ’

सेनाको हेलिकप्टरमा भागेकी शेख हसिनाको चेतावनी- ‘अवामी लिग बिनाको चुनावले देशमा विभाजन ल्याउँछ’

एजेन्सी : बङ्गलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो पार्टी अवामी लिगलाई बाहिर राखेर गरिने कुनै पनि निर्वाचनले देशमा विभाजन र अस्थिरताको बीउ रोप्ने चेतावनी दिएकी छन्।

पदबाट हटेपछि पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिँदै उनले आफूमाथि लागेको मानवता विरुद्धको अपराधको मुद्दालाई ‘न्यायको मजाक’ र ‘पूर्वनिर्धारित फैसला’ को संज्ञा दिइन्।

गत अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहपछि १५ वर्षे शासन गुमाएर सेनाको हेलिकप्टरबाट भागेकी हसिना हाल भारतमा शरण लिइरहेकी छन्।

भारतबाट एएफपीलाई पठाएको एक लिखित प्रतिक्रियामा उनले आफूविरुद्धका सबै आरोपहरू प्रमाणरहित र राजनीतिक प्रतिशोधबाट प्रेरित भएको बताइन्।

‘यो अहिलेको गैर-निर्वाचित सरकारले रचेको राजनीतिक षड्यन्त्र हो’, उनले भनिन्। उक्त आन्दोलनमा भएको दमनमा करिब १४ सय जनाको मृत्यु भएको थियो, जुन घटना नै हाल उनीमाथि चलिरहेको मुद्दाको मुख्य आधार हो।

हसिनाले अवामी लिगको सहभागिता बिनाको निर्वाचन विश्वसनीय नहुने जिकिर गरिन्।

‘निर्वाचन भनेको विचारहरूको प्रतिस्पर्धा हो। तपाईंले कुनै पार्टीलाई मन नपरेकै भरमा बहिष्कार गर्न सक्नुहुन्न,’ उनले भनिन्, ‘यस्ता कदमले देशमा भविष्यको विभाजन र अस्थिरताको बीउ रोप्नेछ।’

उनको बहिर्गमनपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा गठित अन्तरिम सरकारले गत मे महिनामा अवामी लिगमाथि आतङ्कवाद विरोधी ऐन अन्तर्गत प्रतिबन्ध लगाएको थियो, जसलाई ह्युमन राइट्स वाचले ‘कठोर र अलोकतान्त्रिक’ भनेको थियो।

विद्रोहका क्रममा ज्यान गुमाउनेहरूप्रति गहिरो शोक व्यक्त गर्दै हसिनाले आफ्नो शासनकालमा केही गल्ती भएको स्वीकार गरिन्।

‘केही गल्तीहरू आदेश कार्यान्वयनको तहमा भएका थिए, तर सबै निर्णयहरू हिंसा घटाउने सद्भावपूर्ण उद्देश्यले नै लिइएका थिए’, उनको भनाइ छ।

अभियोजन पक्षले उनले सुरक्षाकर्मीलाई प्रदर्शनकारीविरुद्ध ‘घातक हतियार प्रयोग गर्न’ आदेश दिएको अडियो टेप अदालतमा पेश गरेको छ, जसलाई हसिनाले ‘सन्दर्भबाट बाहिर निकालिएको’ बताएकी छन्।

उनले हाल ‘अपरेसन डेभिल हन्ट’ नामक कारबाहीमा हजारौँ अवामी लिग कार्यकर्ता पक्राउ पर्नुलाई ‘राजनीतिक सफाया’ को संज्ञा दिएकी छन्।

नोभेम्बर १३ मा फैसला आउने अपेक्षा गरिएको उक्त मुद्दामा दोषी ठहरिए उनलाई मृत्युदण्डसम्मको सजाय हुन सक्ने बताइएको छ। यसबारे हसिनाले भनिन्, ‘दुःखको कुरा, फैसला पहिले नै तय भइसकेको छ, त्यसैले म आश्चर्यचकित हुनेछैन।’

भविष्यमा राजनीतिमा फर्कनेबारे सोधिएको प्रश्नमा उनले आफ्नो प्राथमिकता व्यक्तिगत सत्ता नभई बङ्गलादेशको स्थिरता र जनताको कल्याण रहेको जिकिर गरिन्।

कात्तिक १२, २०८२ बुधबार १४:३३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।