मुस्ताङको ‘हिडन भ्याली’मा १५ पर्यटक अलपत्र, हवाई उद्धारका लागि खराब मौसम बाधक
काठमाडौं : भारी हिमपातका कारण मुस्ताङको ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती नागरिकसहित १५ जना पर्यटकको उद्धार प्रयास जारी रहेको नेपाली सेनाले जनाएको छ।
लगातारको हिमपात र खराब मौसमका कारण हवाई उद्धारमा कठिनाइ भइरहेको हो।
सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार अलपत्र परेका सबै पर्यटकको अवस्था सामान्य छ र उनीहरूसँग समन्वय भइरहेको छ।
‘लगातार हिउँ परिरहेकाले मौसम खराब छ, जसले गर्दा उद्धारमा केही समस्या भएको छ,’ प्रवक्ता बस्नेतले भने, ‘हामी उद्धारका लागि ट्राभल कम्पनीसँग समन्वय गरिरहेका छौं।’
म्याग्दीबाट धवलागिरि हिमालको फन्को लगाउँदै मुस्ताङको मार्फा जाने ‘धवलागिरि चक्रीय पदमार्ग’मा रहेका उनीहरू सोमबार रातिदेखिको निरन्तर हिमपातले बाटो पुरिएपछि ‘हिडन भ्याली’मा रोकिएका थिए।
अलपत्र पर्नेमा तीन बेलायती महिला र १२ जना नेपाली पर्यटक तथा सहयोगी छन्।
यसैबीच, लगातारको हिमपातका कारण मनाङका विभिन्न उच्च भेगमा फसेका करिब १५ सय पर्यटकको सुरक्षाकर्मीले उद्धार गरेका छन्।
सैनिक प्रवक्ता बस्नेतका अनुसार मनाङको तिलिचो, खाङसार, पिसाङ र माथिल्लो मनाङ लगायतका स्थानबाट २०० विदेशीसहित १५ सय जनाको सफल उद्धार गरिएको हो।
मनाङस्थित नयाँ भैरवीदल गुल्मबाट खटिएको सेनाको टोलीले स्थानीय प्रशासन, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसँगको सहकार्यमा उनीहरूलाई सुरक्षित स्थानसम्म पुर्याएको थियो।
कात्तिक १२, २०८२ बुधबार १४:०८:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।