झलनाथ र रामकुमारीको नाम नलिई माधव नेपालले फेरि भने- ओली सामू लम्पसार पर्न चाहनेले पार्टी छोडे हुन्छ
काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र एमालेसँग एकताको वकालत गर्ने नेताहरूलाई केपी ओली समक्ष लम्पसार पर्न जान चुनौती दिएका छन्।
बुधबार सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले एमालेबाट विद्रोह गर्नुको औचित्यमाथि प्रश्न उठाउनुको कुनै अर्थ नभएको र यो विषय पार्टीको दशौं महाधिवेशनबाट सर्वसम्मतिले टुंगिसकेको बताए।
पार्टीका सम्मानित नेता झलनाथ खनाल र नेतृ रामकुमारी झाँक्री लगायतका नेताहरूले विद्रोहको औचित्यमाथि प्रश्न उठाइरहेको बेला अध्यक्ष नेपालले कडा टिप्पणी गर्दै भने, ‘विद्रोहको औचित्य थिएन भन्नु केपी ओलीको पछि लम्पसार पर्नुबाहेक केही होइन। हामीले पार्टी खोलेर कुनै गल्ती गरेका छैनौं।’
उनले महाधिवेशनबाट टुंगिएको विषयमा फेरि प्रश्न उठाउनु पार्टी अनुशासनको उल्लंघन हुने चेतावनीसमेत दिए। अध्यक्ष नेपालले यसअघि पनि विभिन्न कार्यक्रममार्फत विद्रोहको विरोध गर्नेहरूले पार्टी छोड्नसक्ने बताएका थिए।
अध्यक्ष नेपालले आफ्नो प्रतिवेदनमा अन्य कम्युनिस्ट घटकसँग एकताको ढोका भने खुला राखेका छन्। तर, त्यसका लागि उनले केही वैचारिक र सैद्धान्तिक सर्तहरू अघि सारेका छन्, जसलाई माओवादी केन्द्रसँगको एकता प्रयासतर्फ लक्षित मानिएको छ।
प्रतिवेदनअनुसार, पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवाद हुनुपर्ने, देश समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको स्वीकार गर्नुपर्ने, र पार्टीको संगठनात्मक सिद्धान्त लेनिनवादी हुनुपर्ने जस्ता अवधारणामा सहमति भए मात्र एकता सम्भव हुने उल्लेख छ।
‘यी अवधारणा छाडेर कसैसँग पनि पार्टी एकता हुन सक्दैन,’ प्रतिवेदनमा भनिएको छ, ‘यदि यी सबै कुरामा समान धारणा राख्ने कुनै कम्युनिस्ट घटकसँग एकताको सम्भावना भएमा हामी नकारात्मक हुन पनि हुँदैन।’
बैठकमा अध्यक्ष नेपालले हालैको राजनीतिक घटनाक्रममा आफ्नो पार्टीको भूमिकाबारे पनि चर्चा गरे। उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठनमा आफूहरूको निर्णायक भूमिका रहेको दाबी गरे।
‘भदौ २५ गते राति ९ बजेदेखि बिहान ४ बजेसम्म राष्ट्रपति निवासमा भएको लामो छलफलपछि हाम्रो समर्थनमा कार्कीको नाममा सहमति जुटेको हो,’ उनले भने, ‘एमाले अध्यक्ष ओलीले पहिल्यै सहमति जनाए पनि कांग्रेसका नेताहरूलाई राति २ बजे बोलाएर सहमति गराइएको थियो।’
यसैगरी, अध्यक्ष नेपालले हाल चर्चामा रहेको जेन-जी आन्दोलनका प्रतिनिधिहरूसँग पनि आफ्नो पार्टीले वार्ता गरिरहेको जानकारी दिए। ‘केही जेन–जी साथीहरू वार्ताका लागि आउनुभएको छ, उहाँहरूसँग हार्दिकतापूर्वक छलफल गरेका छौँ’, उनले भने।
कात्तिक १२, २०८२ बुधबार १३:५१:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।