जेन-जी आन्दोलनमा पोखराका प्रहरी कार्यालयमा तोडफोड र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ

जेन-जी आन्दोलनमा पोखराका प्रहरी कार्यालयमा तोडफोड र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
फाइल तस्बिर

पोखरा : कास्की प्रहरीले गत भदौमा भएको आन्दोलनका क्रममा प्रहरी कार्यालयमा आगजनी, तोडफोड र हतियार लुटपाटमा संलग्न भएको आरोपमा १० जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले मंगलबार एक विज्ञप्ति जारी गर्दै उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार गत भदौ २४ गते भएको आन्दोलनको क्रममा उनीहरूले विभिन्न प्रहरी युनिटमा आक्रमण गरी आतंक फैलाएका थिए।

पक्राउ पर्नेहरू जिल्ला प्रहरी कार्यालय, कास्कीबाट हतियार लुटपाट गरी जलाउने, वडा प्रहरी कार्यालय बगरमा हतियारको थुप्रोमा आगो लगाउने र नयाँपुलस्थित प्रहरी चौकीमा आगजनी गर्ने घटनामा संलग्न रहेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) हरि बहादुर बस्नेतका अनुसार जिल्ला प्रहरी कार्यालयमा भएको आक्रमणमा ४ जना, बगरमा १ जना र नयाँपुल प्रहरी चौकीको आगजनीमा ५ जनाको संलग्नता रहेको थियो।

पक्राउ परेका सबैलाई कास्की जिल्ला अदालतबाट ‘आपराधिक उपद्रव’ सम्बन्धी मुद्दामा अनुसन्धानका लागि ६ दिनको म्याद थप गरी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा धादिङका राजेश मक्रान्ती तथा कास्की पोखरा र अन्नपूर्ण गाउँपालिकाका नारायण साई, अरुण वि.क., रुपेश मगर, दिपु साई, लड बहादुर नेपाली, अरविन वि.क., ग्रिस क्षेत्री, थम बहादुर सार्की र पूर्ण बहादुर नेपाली रहेका छन्।

कात्तिक १२, २०८२ बुधबार १३:३२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।