शुक्रबार बिहानसम्म देशका विभिन्न भागमा भारी वर्षा र हिमपात हुने

शुक्रबार बिहानसम्म देशका विभिन्न भागमा भारी वर्षा र हिमपात हुने

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

विभागले बुधबार दिउँसो एक विशेष बुलेटिन जारी गर्दै बिहीबार बिहानदेखि शुक्रबार बिहानसम्म मौसममा बदली आउने जनाएको हो।

विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ।

यसैगरी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।

विभागले वर्षा र हिमपातको सम्भावित जोखिमको आँकलन गर्दै विभिन्न जिल्लाहरूलाई सतर्कताका तहअनुसार वर्गीकरण गरेको छ।

यो चेतावनी विशेषगरी कात्तिक १३ गते बिहान ८ बजेदेखि कात्तिक १४ गते बिहान ८ बजेसम्मको २४ घण्टाका लागि केन्द्रित छ।

विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाहरूमा मौसमको असर बढी देखिने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ भने लमजुङ, कास्की, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, पर्वत, स्याङ्जा, र तनहुँका स्थानीयलाई अद्यावधिक रहन भनेको छ।

यस्तै कोशी, मधेश र बागमती प्रदेशका सबै जिल्लाहरू तथा दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, मुस्ताङ, मनाङ, गोरखा, र नवलपुरमा पनि सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

देशको पश्चिमी भू-भागमा भने मौसम सामान्य रहने पूर्वानुमान छ। विभागले मौसम परिवर्तनका कारण हुन सक्ने सम्भावित असरबाट जोगिन र दैनिक जनजीवनमा सावधानी अपनाउन सबैलाई अनुरोध गरेको छ।

कात्तिक १२, २०८२ बुधबार १३:१४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।