रास्वपाले ‘बृहत् राजनीतिक संवाद’ गर्ने, समान सोच भएका शक्तिलाई एकठाउँमा ल्याउने प्रयास

रास्वपाले ‘बृहत् राजनीतिक संवाद’ गर्ने, समान सोच भएका शक्तिलाई एकठाउँमा ल्याउने प्रयास

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समान सोच र शैली भएका राजनीतिक शक्ति, स्वतन्त्र अभियन्ता र युवाहरूलाई एक ठाउँमा ल्याउने उद्देश्यले ‘बृहत् राजनीतिक संवाद’ आयोजना गर्ने भएको छ।

मंगलबार बसेको पार्टी सचिवालय बैठकले यही कात्तिक १४ गते उक्त संवाद कार्यक्रम गर्ने निर्णय गरेको हो।

पार्टीका प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिअनुसार जेन-जी पुस्ताको आन्दोलनपछि बदलिएको राजनीतिक परिवेशमा प्राप्त उपलब्धिहरूको संरक्षण गर्न र देशको दीर्घकालीन रूपान्तरणका लागि वृहत् राजनीतिक गठबन्धन आवश्यक रहेको निष्कर्ष निकाल्दै संवाद आयोजना गर्न लागिएको हो।

‘समयमै सार्थक सहकार्य नभए पश्चगमनको ढोका खोलिन सक्ने यथार्थलाई बोध गर्दै विविध राजनीतिक विकल्पबारे खुला छलफल गर्न लागिएको हो’, विज्ञप्तिमा उल्लेख छ।

संवादले आन्दोलनको सन्देशबारे साझा बुझाइ बनाउने, लोकतन्त्र र राष्ट्रियताको प्रवर्द्धनका लागि सहकार्यको खाका कोर्ने तथा आसन्न प्रतिनिधि सभा निर्वाचनमा रणनीतिक साझेदारीको सम्भावना खोज्ने उद्देश्य राखेको छ।

बैठकले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै विभिन्न तयारीहरूलाई पनि तीव्रता दिने निर्णय गरेको छ।

निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि कात्तिक मसान्तसम्मको समय दिएको सन्दर्भमा रास्वपाले कात्तिक ११ देखि २५ गतेसम्म देशव्यापी रूपमा ‘मतदाता नामावली दर्ता सहजीकरण अभियान’ सञ्चालन गर्ने भएको छ। अभियानको संयोजन पार्टी सचिवालय सदस्य गणेश पराजुलीले गर्नेछन्।

यसैगरी, बैठकले कात्तिक २२ गतेभित्र समानुपातिकतर्फका उम्मेदवारका लागि आवेदन आह्वान गर्ने निर्णय पनि गरेको छ।

पार्टीका वडा तथा पालिका अधिवेशनहरू सुचारु गर्ने, जिल्ला र प्रवासमा प्रशिक्षण सञ्चालन गर्ने तथा तल्लो तहका संगठनहरूलाई विभिन्न अभियानहरू सञ्चालन गर्न निर्देशन दिने निर्णयसमेत बैठकले गरेको प्रवक्ता झाले जानकारी दिए।

कात्तिक १२, २०८२ बुधबार १२:११:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।