स्वास्थ्य क्षेत्र सुधार गर्न मन्त्री गौतमको निर्देशन, ३० दिने कार्ययोजना माग

स्वास्थ्य क्षेत्र सुधार गर्न मन्त्री गौतमको निर्देशन, ३० दिने कार्ययोजना माग

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रमा देखिने गरी सुधार ल्याउन मातहतका सबै निकायलाई ३० दिनभित्र सम्पन्न हुने गरी अल्पकालीन कार्ययोजना पेश गर्न निर्देशन दिएको छ।

मन्त्री डा. सुधा गौतमको अध्यक्षतामा मंगलबार बसेको उच्चस्तरीय व्यवस्थापन बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले मन्त्रालय अन्तर्गतका सबै विभाग, केन्द्र र महाशाखाहरूलाई जनचाहना अनुसार स्वास्थ्य क्षेत्रमा सुधार गर्न अल्पकालीन (३० दिने), मध्यकालीन (६० दिनभित्र सुरु हुने) र दीर्घकालीन योजनाहरूको सूची तयार पारी आज (कार्तिक १२ गते) कार्यालय समयभित्र पेश गर्न निर्देशन दिएको छ।

प्राप्त योजनाहरूलाई एकीकृत गरी नीति, योजना तथा अनुगमन महाशाखाले भोलि (कार्तिक १३ गते) प्रस्तुत गर्नेछ।

त्यसैगरी, बैठकले सार्वजनिक खरिद प्रक्रिया र औषधि दर्ता प्रक्रियालाई पूर्ण पारदर्शी, जिम्मेवार र जवाफदेही बनाउन मातहतका निकायहरूलाई निर्देशन दिएको छ। सेवा प्रवाहबारे आउने गुनासाहरूको तत्काल सम्बोधन गर्न पनि मन्त्रालयले सचेत गराएको छ।

मन्त्रालयले हालै देखिएका समसामयिक समस्या समाधानका लागि सातै प्रदेशमा समन्वय टोली खटाउने निर्णय पनि गरेको छ।

उक्त टोलीले नर्सिङ कर्मचारीको तलब र सुविधा सम्बन्धी आन्दोलन, जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरण र क्लिनिक सञ्चालन, एन-जार तयारी र मनोसामाजिक परामर्श सेवामा संघीय, प्रादेशिक र स्थानीय तहसँग छलफल तथा सहजीकरण गर्नेछ।

यो निर्णयले मन्त्रालय स्वास्थ्य क्षेत्रका दीर्घकालीन र तत्कालीन दुवै प्रकृतिका समस्यालाई एकसाथ सम्बोधन गर्न सक्रिय भएको देखाउँछ।

कात्तिक १२, २०८२ बुधबार १२:०६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।