प्रतिनिधि सभा विघटन मुद्दा संवैधानिक इजलासमा, आजदेखि सुनुवाइ

प्रतिनिधि सभा विघटन मुद्दा संवैधानिक इजलासमा, आजदेखि सुनुवाइ

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूमाथि सुनुवाइ गर्न संवैधानिक इजलास गठन भएको छ। उक्त मुद्दाको प्रारम्भिक सुनुवाइ आजबाट सुरु भएको छ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा गठित इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा सदस्य छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको सिफारिसमा गत भदौ २७ गते प्रतिनिधि सभा विघटन गरेका थिए। त्यसअघि, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पश्चात् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए।

प्रतिनिधि सभाबाट नयाँ सरकार गठन हुन नसकेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। सोही सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरिएको हो।

अन्तरिम सरकारको गठन र त्यसको सिफारिसमा भएको प्रतिनिधि सभा विघटन, दुवै असंवैधानिक भएको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट दायर भएका थिए।

अधिवक्ताहरू प्रेमराज सिलवाल, युवराज पौडेल, कीर्तिनाथ शर्मा पौडेल, डा. पुण्यप्रसाद खतिवडा लगायतले रिट निवेदन दायर गरेका हुन्।

कात्तिक १२, २०८२ बुधबार ११:५२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।