मुस्ताङमा भारी हिमपात : कागबेनी-मुक्तिनाथ सडक सञ्चालनमा आउँदा चराङ-लोमान्थाङ सडक अवरुद्ध
मुस्ताङ : मुस्ताङमा परेको भारी हिमपातका कारण उपल्लो मुस्ताङको चराङ-लोमान्थाङ सडकखण्ड अवरुद्ध भएको छ भने अन्य क्षेत्रमा पनि यातायातमा कठिनाइ उत्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय, मुस्ताङका प्रहरी नायब उपरीक्षक (डिएसपी) छिरिङ किप्पा लामाका अनुसार चराङदेखि लोमान्थाङसम्मको करिब पाँच किलोमिटर सडकमा आठ इन्चसम्म बाक्लो हिउँ जमेको छ।
‘विशेषगरी नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको खण्डमा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको छ’, डिएसपी लामाले जानकारी दिए।
यसअघि हिमपातकै कारण अवरुद्ध बनेको कागबेनी-मुक्तिनाथ सडक भने हाल सञ्चालनमा आएको छ। मङ्गलबार लोमान्थाङ-२ न्हेचुङस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बिओपी) ले छोसेर-कोरला सडकमा जमेको हिउँ पन्छाएर यातायात सहज बनाएको थियो।
मङ्गलबारदेखि नै जारी हिमपातले उपल्लो मुस्ताङको घमीदेखि कोरलासम्म र मुक्तिनाथ क्षेत्रका डाँडाकाँडा हिउँले सेताम्मे भएका छन्। हिमपातले स्थानीयको दैनिकीमा असर पारेको छ।
कात्तिक १२, २०८२ बुधबार १०:५२:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।