नेपाल प्रिमियर लिगको ‘लाइभ फिड प्रोडक्सन’का लागि क्यानद्वारा बोलपत्र आह्वान

नेपाल प्रिमियर लिगको ‘लाइभ फिड प्रोडक्सन’का लागि  क्यानद्वारा बोलपत्र आह्वान

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को प्रत्यक्ष प्रसारण उत्पादन (Live Feed Production)का लागि इच्छुक कम्पनीहरूबाट सिलबन्दी बोलपत्र आह्वान गरेको छ।

संघले आज एक सार्वजनिक सूचना जारी गर्दै योग्य कम्पनीहरूलाई प्रक्रियामा सहभागी हुन अनुरोध गरेको हो।

सूचनाअनुसार, इच्छुक कम्पनीहरूले १० हजार रुपैयाँ (फिर्ता नहुने) शुल्क तिरेर क्यानको कार्यालय, मूलपानीबाट बोलपत्र फाराम खरिद गर्न सक्नेछन्।

फाराम खरिद गर्ने अन्तिम मिति नोभेम्बर ३, २०२५ तोकिएको छ। फाराम खरिदका लागि कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि र लिखित निवेदन पेश गर्नुपर्नेछ।

बोलपत्र पेश गर्ने अन्तिम मिति नोभेम्बर ४ दिउँसो १२:०० बजेसम्म रहेको छ। बोलपत्रसँगै न्यूनतम नौ लाख रुपैयाँ बराबरको जमानत (बिड सेक्युरिटी) अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।

तोकिएको समयपछि प्राप्त भएका बोलपत्रहरूलाई मान्यता नदिइने क्यानले स्पष्ट पारेको छ।

प्राप्त बोलपत्रहरू सोही दिन दिउँसो २:०० बजे बोलपत्रदाता वा उनीहरूका प्रतिनिधिहरूको उपस्थितिमा क्यानको कार्यालय, मूलपानीमा खोलिनेछ।

गतवर्ष सिधै भारतीय टीसीएम नेपाललाई लाइभ फिड प्रोडक्सन र ब्रोडकास्टिङको जिम्मेवारी दिएको थियो। त्यसो गर्दा आर्थिक अनियमितता भएको भन्दै चर्को आलोचना भएको थियो।

नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र खेलकुद मन्त्रालयले अनुसन्धान गरेको थियो।

कात्तिक १२, २०८२ बुधबार १०:१३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।