आन्तरिक पर्यटकले भरिए मुस्ताङका होटल, १० दिनमा ४० हजार पर्यटक गएकामध्ये ३७ हजार नेपाली नै
मुस्ताङ : यस वर्षको पर्यटकीय सिजनमा मुस्ताङमा पर्यटकको घुइँचो लागेको छ।
कात्तिक महिनाको पहिलो १० दिनमै ४० हजारभन्दा बढी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्। तर, सोमबार रातिदेखि सुरु भएको भारी हिमपातले मुक्तिनाथ दर्शन यात्रा भने कष्टकर बनेको छ।
जिल्ला प्रहरी कार्यालय, मुस्ताङका अनुसार कात्तिक १ देखि १० गतेसम्म बेनी-जोमसोम सडकमार्ग हुँदै ३७ हजार १४६ आन्तरिक र ३ हजार ७३२ विदेशी गरी कुल ४० हजार ८७८ पर्यटक मुस्ताङ प्रवेश गरेका छन्।
प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले सो अवधिमा ११,८०८ वटा सवारीसाधन मुस्ताङ भित्रिएको जानकारी दिए।
भारी हिमपातका कारण कागबेनी-मुक्तिनाथ सडकखण्ड र मन्दिरसम्म पुग्ने पैदलमार्ग अवरुद्ध हुँदा तीर्थयात्रीहरू समस्यामा परेका छन्।
मुक्तिनाथ मन्दिर विकास समितिका अनुसार चिसो अत्यधिक बढेको छ भने स्नानकुण्ड र १०८ धारामा पानी जमेकाले धार्मिक कार्यमा समेत बाधा पुगेको छ।
प्रहरीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या एक लाख ५९ हजार नाघेको छ।
कात्तिक १२, २०८२ बुधबार ०८:५२:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।