झापाको दमकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २१ घाइते
दमक : झापाको दमकमा गए राति यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।
दमकबाट मोरङको टाँडीतर्फ जाँदै गरेको बा २ ख १९८३ नम्बरको बस दमक नगरपालिका–२, पाङ्गिनीचोकमा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी नायब उपरीक्षक (डिएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार बसमा ३५ जना यात्रु सवार थिए।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ भने अन्य २० जना सामान्य उपचारपछि घर फर्किएका छन्। मृत्यु हुनेको सनाखत भने हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनालगत्तै बस चालक मोरङको मिक्लाजुङ–३ निवासी ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
कात्तिक १२, २०८२ बुधबार ०८:२२:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।