पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातसँगै नदीमा बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह
काठमाडौं : पश्चिमी वायु र अरब सागरमा विकसित न्यून चापीय प्रणालीको संयुक्त प्रभावले देशभरको मौसममा बदली आएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने तथा नदीनालामा पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार हाल गण्डकी प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका पहाडी भू-भागमा मध्यम वर्षा र हिमपात भइरहेको छ।
दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी क्षेत्रमा मौसम सामान्यतया बदली भई केही स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराईका भू-भागमा भने मौसम आंशिक बदली रहनेछ।
राती देशभर आंशिक बदली रही कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात जारी रहनेछ।
विभागले विशेषगरी बागमती, कमला, कोशी र कन्काई लगायतका नदी र तिनका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने जनाएको छ। यी नदीहरूमा जलस्तरले सतर्कता तह आसपास पुग्न सक्ने सम्भावना छ।
साथै, कोशी, बागमती र मधेश प्रदेशका चुरे र महाभारत क्षेत्रबाट बहने साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन भनिएको छ।
यस मौसमी प्रणालीका कारण पहिरो, आकस्मिक बाढी जस्ता जोखिम बढ्नुका साथै दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि र पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने देखिएको छ।
विभागले सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी गर्न र सजग रहन सबैमा अनुरोध गरेको छ।
कात्तिक १२, २०८२ बुधबार ०७:४२:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।